चीनले अमेरिकालाई उछिन्दै उच्च गतिको लेजर सञ्जालमा


चीनले रेडियो संकेतको सट्टामा लेजरको प्रयोग गरेर उच्च गतिको सञ्चारको परीक्षण गरेको छ। चीनको बेइडोउ नेभिगेसन प्रणालीमा रहेका स्याटेलाइट र पृथ्वीमा रहेको ग्राउण्ड स्टेसनबीच उक्त सञ्चारको परीक्षण गरिएको हो।

यो विधिबाट स्याटेलाइटले प्रतिसेकेण्डमा धेरै जीबी डेटा पृथ्वीमा पठाउन सक्छ। अहिले प्रतिसेकेण्ड केही केबीको हिसाबमा डेटाहरु स्याटेलाइटबाट पाउन सकिन्छ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार यो परीक्षणको डेटा सञ्चारस्तरीय देखिएको छ। पछिल्लो समय अन्तरिक्षमा लेजर सञ्जाल बनाउने विषयमा अमेरिका र चीनबीच प्रतिस्पर्धा चलिरहेको छ।

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले गत सोमबार दुई वर्षको ढिलाइपछि आगामी महिना त्यस्तै परीक्षणको लागि स्याटेलाइट प्रक्षेपण गर्ने बताएको थियो। परीक्षणको क्रममा स्याटेलाइटले प्रतिसेकेण्ड २।८ जीबी डेटा पठाउन सक्ने नासाको भनाइ थियो।

बेइडोउको स्याटेलाइट अहिले प्रयोगकर्तासँग रेडियो सिग्नलमार्फत जोडिएको छ। यसले सीमित ब्याण्डविथको कारण धेरै डेटा प्रसारण गर्न सक्दैन। लेजरको सहयोगमा भने उक्त सञ्जालले कुनै पनि स्थानमा लाखौं गुणा छिटो डेटाहरु पुर्‍याउन सक्छ। यसको ब्याण्डविथ पनि धेरै हुन्छ भने यसले अन्य जनावरहरूलाई पनि कम असर गर्छ।

वैज्ञानिकहरुका अनुसार लेजर सञ्जालबाट सहर तथा अन्य अवरोध धेरै हुने स्थानमा पनि एकनासको सेवा लिन सकिन्छ। जमिनको स्टेसनमा पनि ठूलो टेलिस्कोप र सिग्नल व्यवस्थापन गर्ने उपकरण हुन्छन्।

चिनियाँ वैज्ञानिकहरुले चीन विश्वव्यापी कभरेज गर्ने गरी लेजर सञ्जाल सुरु गर्ने पहिलो मुलुक बन्ने विश्वास व्यक्त गरेका छन्। लेजर सञ्जालको ब्याण्डविथ एक टीबी ९१००० जीबी० प्रतिसेकेण्डसम्म पुग्न सक्ने उनीहरुको भनाइ छ। यो सञ्जालमा तेस्रो पक्षले हस्तक्षेप गर्ने सम्भावना पनि न्यून रहन्छ। साथै यो सञ्जाल सञ्चालन गर्न पनि तुलनात्मकरुपमा सहज हुन्छ।

लेजर सञ्चारको स्याटेलाइटको योजना सन् १९६० को दशकमा आएको हो। अमेरिका, जापान र केही युरोपेली मुलुकले यस्तो प्रविधि विकास गर्न धेरै कार्यक्रम ल्याएका थिए तर उनीहरुले केही व्यावहारिक समस्या समाधान गर्न सकेका थिएनन्।

अमेरिकी अर्बपति एलन मस्कको स्टारलिंकले विश्वभर २०० ब्याण्डविथको इन्टरनेट प्रदान गर्ने गरी काम गरिरहेको छ। चीनले अहिले परीक्षण गरिरहेको लेजर सञ्जालको प्रयोग गर्दा भने स्टारलिंकको भन्दा सहज हुने र त्यसको खर्च पनि निकै कम उठ्ने जानकारहरुले बताएका छन्।