शेयर बजार : ७२ अंकको गिरावटपछि नाटकीय सुधार कसरी आयो ?


काठमाडौं, मंसिर २१। साताको पहिलो दिन शेयर कारोबार मापक नेप्से परिसूचक ७२ अंकले घट्यो । बजार घट्ने क्रमले निरन्तरता सोमबार पनि पाउने लगानीकर्ताहरुको अनुमान थियो । नभन्दै सोमबार पनि कारोबार खुला भएसँगै लगातार घट्ने क्रम शुरु भयो । कारोबार शुरु भएको एक घण्टामै ७२ अंकले बजार घटेपछि लगानीकर्ताहरु आत्तिए ।

तर मध्याह्न बजारमा नाटकीय सुधार देखियो । १२ बजेर ४ मिनेटपछि बजार सम्हालिने क्रम शुरु भयो । घटेको अंंक कम हुँदाहुँदै ३२ अंकको शानदार वृद्धिपछि बजार बन्द भएको छ । सोमबार बजार बढ्नुको कारणबारे लगानीकर्ताका आ–आफ्नै अनुमान छ । अनपेक्षित रुपमा बढेको बजारको कारणबारे नेपाल इन्भेष्टर्स फोरमकी महासचिव दुर्गा तिवारी संसदीय समितिको निर्णय भएको बताउँछिन् ।

प्रतिनिधि सभाको अर्थ समितिले शेयर बजारमा भइरहेको गिरावटबारे चासो देखाएको छ । अर्थसमितिले सोमबार अर्थन्त्रालय र राष्ट्र बैंकका अधिकारीका साथै अन्य सरोकारवालालाई बोलाएर छलफल गराउने तयारी गरेको छ । अर्थसमितिले दिएको जानकारी अनुसार आगामी बिहीबार छलफलका लागि बोलाइएको छ ।

संसदीय समितिको यो सक्रियताले सोमबार लगानीकर्ताहरुको मनोबल बढाउन भूमिका खेलेको उनी बताउँछिन् । संसदीय समितिले नीतिगत सुधारहरु गर्नुपर्ने आवश्यकता ठानेको अवस्थामा सरकारलाई निर्देशन दिन सक्छ । यसकारण पनि बजारलाई सकारात्मक असर परेको उनी बताउँछिन् । अर्को तर्फ सोमबारमात्रै नेपालमा पनि कोरोना भाइरसको भेरियण्ट ओमिक्रोन समेत पुष्टि भएको छ ।

कोरोनाको त्रासका कारण दशेमा गरिएको लकडाउनपछि शेयर बजारमा निकै राम्रो असर गरेको थियो । अर्थतन्त्रका अन्य क्षेत्रहरु पूर्ण रुपमा बन्द हुँदा पनि शेयर बजार खुला भइरहेका कारण कोरोनाको सकारात्मक असर दखिएको थियो ।

‘लकडाउनमा बजार निकै राम्रो बढेको हो, भोलि पुनः लकडाउन हुनसक्ने अवस्था आउने हो भने बजार धेरै माथि जानसक्छ’ शेयर लगानीकर्ता नयन बास्तोला बताउँछन् ।

शेयर बजारमा सक्रिय रहेका लगानीकर्ता बास्तोलाको बुझाइमा लगानीकर्ताहरु आन्दोलनमा उत्रने तयारीका कारण पनि सकारात्मक असर परेको छ । नीतिगत सुधारका लागि सबै लगानीकर्ताहरु एक ठाउँमा उभिने भन्दै सोमबार भेला बोलाइएको थियो । यो भेलाले गर्ने निर्णयपछि सरकारलाई नीतिगत सुधार गर्न दबाब बढ्ने सन्देश लगानीकर्तामा गएको उनले बताए ।

‘हामीले पुँजी बजार विरोधीलाई नो भोट भन्ने अभियान समेत चलाउदैछौं, हामी हाम्रो लगानीकर्ता जोगाउन आन्दोलनमा जानैपर्ने अवस्था सिर्जना भएको छ,’ उनी भन्छन्, ‘सोमबारको हाम्रो सक्रियताको सकारात्मक प्रभाव बजारमा परेको छ ।’

पुँजी बजारप्रति सरकारको दृष्टिकोण

पुँजी बजारप्रति अर्थमन्त्री जनार्दन शर्माले आफ्नो धारणा स्पष्ट पारेका छैनन् । तर राष्ट्र बैंकले शेयर धितोमा जान कर्जामा कडाइ गर्दै ४÷१२ को सीमा लगाएपछि नीतिगत सुधार गर्न अर्थमन्त्रीले राष्ट्र बैंकलाई आग्रह गरेको समाचार उनकै सचिवालयले बाहिर ल्याएको थियो ।

अर्थमन्त्रीले आग्रह गरेको भनिए पनि राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षामा शेयर धितो कर्जाका विषयमा बोलेन । त्यसयता बजार प्राय लगातार घटिरहेको छ । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा पुँजी बजार फोरमका सभापति अम्बिका प्रसाद पौडेल बजारमा तरलता अभावको असर परेको बताउँछन् ।

अहिले बैंकिङ क्षेत्रमा लगानीयोग्य रकम (तरलता) एकदमै अप्ठरो अवस्थामा छ । बैंकहरुले निक्षेप संकलन गर्न सकेका छैनन् भने कर्जा आक्रामक रुपमा विस्तार गरिरहेका छन् ।

९० प्रतिशत कायम हुनुपर्ने बैंकहरुको औसत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) नै ९१ प्रतिशत नाघेको छ । यसको असर बजारमा देखिएको पौडेल बताउँछन् । तर योभन्दा पनि ठूलो असर भने सरकार र सकारी निकायको पुँजी बजारलाई हेर्ने दृष्टिकोणको परेको उनले बताए ।

‘पुँजी बजार धेरै बढ्यो भन्दै एकपछि अर्को बन्देज लगाइयो, अहिले देखिएको समस्या भनेको संस्थागत लगानीकर्ताहरुलाई लगाएका बन्देजको परिणाम हो’ पौडेलले भने, ‘गत साउनमा आएको मौद्रिक नीति,, त्यसपछिको समीक्षा र सरकारले हेर्ने दृष्टिकोण नै नकारात्मक छ, यसको असर त पर्ने नै भयो ।’

पुँजी बजार अर्थतन्त्रको एउटा महत्वपूर्ण पाटो भएको भन्दै उनले सरकारले पुँजीबजारप्रति हेर्ने दृष्टिकोण नबदलिएसम्म अर्थतन्त्र पनि समस्याबाट बाहिर ननिस्कने उनले बताए ।

‘स्वाभाविक रुपमा हुने क्रिया र प्रतिक्रियालाई हामी स्वीकार्छौं, स्वीकार्नु पर्छ,’ उनी भन्छन्, ‘तर अस्वाभाविक रुपमा हुने सरकारको प्रतिक्रिया सहन गाह्रो परेको छ, टेक्ने हाँगो नैै भाँचिएर अडिएको अवस्थामा लगानीकर्ताहरु पुगेका छन् । चलिरहेका उद्योग व्यवसायहरुबाट नयाँ उद्योग व्यवसायहरु विस्तार गर्ने क्षेत्र भनेको पुँजी बजार नै भएको भन्दै उनले यसलाई व्यवस्थित गर्नुपर्ने बताए ।

नेपाल इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष छोटेलाल रौनियार पनि सरकारी नीति र दृष्टिकोणका कारण लगानीकर्ताहरुको मनोभावमा असर परेको बताउँछन् ।

अहिले बजार घट्नुपर्ने तात्विक कारण आफूले नदेखेको भन्दै सरकारी सामान्य कारणले गर्दा बजारमा नकारात्मक असर परेको उनको बुझाइ छ । तर शेयर बजारमा घटेको बेला किन्न सक्ने र बढेको बेला बेच्न सक्नेले नै पैसा कमाउने भन्दै यो बेला किन्ने अवसर सिर्जना भएको उनी बताउँछन् ।

‘यतिबेला बोनस खाने बेला हो, यतिबेला शेयर किन्ने समय नै हो तर लगानीकर्ताहरु आत्तिएर बिक्री गरिरहेका छन्,’ पूर्व अध्यक्ष रौनियारले भने, ‘केही दिनमा बजार बढ्यो भने तछाड मछाड गरेर किन्छन्, तर अहिले त ठूलो विपत्ति केही आएको छैन सस्तोमा किन्ने हो भने बढेको बेला कमाइन्छ ।’ उनले बजारमा बुझ्दै नुबझी कसैको लहलहैमा लागेर शेयर किन्न नहुने समेत बताए ।

ठूलै लगानीकर्ताहरु पनि आत्तिए

शेयर कारोबार मापक नेप्से परिसूचक ३ हजार २ सय माथि पुगेर रेकर्ड राखेकोमा अहिले ७ सय अंकले तल झरिसकेको छ । बजार लगातार घटिरहँदा यस्को असर लगानीकर्ताहरुको पुँजीमा पर्ने नै भयो ।

नेप्सेका अनुसार पछिल्लो तीन महिनामा शेयर लगानीकर्ताहरुको पुँजीकरण ९ खर्बभन्दा धेरैले घटेको छ । यसले सामान्य लगानीकर्ताहरु मात्रै होइन ठूलै भनिने लगानीकर्ताहरु पनि आत्तिएका छन् । सोमबार बुद्धनगरमा भएको लगानीकर्ताहरुको भेलाले यसको पुष्टि हुन्छ ।

लगानीकर्ताहरुले अब नीतिगत सुधारका लागि वृहत संगठन बनाउने निर्णय गरेका छन् । शेयर लगानीकर्ता तिलक कोइराला भन्छन्, ‘नेपालको पूँजी बजारमा गम्भीर संकट उत्पन्न भएपछि लगानीकर्ताहरु संगठिन बन्न लागेका हुन् ।’ यसअघि पनि आधा दर्जन संघ–संगठनहरु छन् । सबै एकजुट भएर एउटा संगठन भए नीति निर्माणमा आफ्ना आवाजहरु सुनिने सोमबारको भेलाको निष्कर्ष छ ।

सोमबारको भेलामा अम्बिकाप्रसाद पौडेल, सेयर लगानीकर्ता संघ नेपालका माहासचिव जगन्नाथ पुडासैनी, इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल, नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोख्रेल, सेयरलगानीकर्ता दबाब समूहका संयोजक हरि ढकाल, स्वतन्त्र पुँजी बजार संघका अध्यक्ष रोहन कार्की लगायत करिब ५ दर्जन लगानीकर्ताहरु सहभागी थिए ।