सिख धर्मग्रन्थ छुन खोजेको भन्दै मन्दिरमै कुटीकुटी एक युवकको हत्या !


काठमाडौं, पुष ०४। भारतको अमृतसरमा रहेको सिख धर्मावलम्बीहरुको पवित्र स्थल स्वर्ण मन्दिरमा एक जनाको हत्या भएको छ । भारतीय प्रहरीका अनुसार एक अज्ञात व्यक्ति मन्दिरमा छिरेर धर्मको अपमान गरेको आरोपमा कुटपिट गर्दा उनको मृत्यु भएको प्रारम्भिक अनुमान छ ।

शनिबार साँझ प्रार्थनाका बेला उक्त घटना भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । प्राप्त समाचार अनुसार ती युवक स्वर्ण मन्दिरको गर्भगृहमा प्रवेश गरेका थिए, जहाँ पवित्र धर्मग्रन्थ ‘गुरु ग्रन्थ साहिब’ र तरबार राखिएको हुन्छ ।गर्भगृहमा छिरेर ती व्यक्तिले गुरु ग्रन्थ साहिबसँगै राखिएको प्रार्थनाका बेला प्रयोग हुने तरबार छुने प्रयास गरेको बताइएको छ ।

त्यो देखेर तत्कालै त्यहाँ परिचालित सुरक्षाकर्मी र भक्तजन ती युवकमाथि जाइलागेका थिए । उनीहरुको कुटपिटबाट युवकको मृत्यु भएको बताइएको छ । ती व्यक्तिमाथि स्थानीय समयानुसार साँझ पौने ६ बजेतिर आक्रमण भएको हो । साँझको प्रार्थनाको समय भएकाले उक्त घटनाको दृश्य समेत टेलिभिजनमा प्रसारित भइरहेको बताइएको छ । त्यसपछि के भयो भन्नेबारे खुल्न सकेको छैन । प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ । प्रहरी घटनास्थल पुग्दा युवक भने मृत भेटिएका थिए ।

प्रहरीका अनुसार मृतक युवक २०–२५ वर्षको उमेरका देखिन्छन् । तर उनको परिचय खुलिसकेको छैन । घटनापछि पञ्जाबका मुख्यमन्त्री चरणजीत सिंह चन्नीले ट्टिरमा ‘उक्त नृशंस कृत्यका पछाडिको उद्देश्य र वास्तविक षड्यन्त्रकारीहरूप्रति शून्य सहनशीलता अपनाउन’ प्रहरीलाई आदेश दिइसकेको उल्लेख गरेका छन् ।