गोकर्णेश्वरका विद्यालयमा रामायण पढाइने


काठमाडौं, पुष ११। गोकर्णेश्वर नगरपालिकाका सामुदायिक एवं संस्थागत विद्यालयमा बालबालिकालाई रामायणका विषयमा अध्यापन गराइने भएको छ। बालबालिकाका लागि पढ्न सकिने गरी पहिलो मुख्यसचिव चन्द्रबहादुर थापाले लेखेका ‘छोटकरी रामायण’ सबै विद्यालयमा वितरण गर्ने अभियान सुरु गरिएको छ। वि.सं. २०२२ मै प्रकाशन भएको ‘छोटकरी रामायण’ पहिलो संस्करण सकिएपछि थापाका नाति विजयकुमार थापाले दोस्रो संस्करण प्रकाशन गरेर गोकर्णेश्वरका सामुदायिक एवं संस्थागत विद्यालयमा निःशुल्क वितरण अभियान सुरु गरेका हुन्।

यज्ञडोल (जगडोल) सामुदायिक वन क्षेत्रमा शनिबार आयोजना गरिएको पुस्तक हस्तान्तरण कार्यक्रममा प्रकाशक थापाले नगरपालिकाको वडा नम्बर ४ का विद्यालयका लागि आवश्यक पुस्तक वडाध्यक्ष श्रीकुमार श्रेष्ठलाई दिएका छन्। हजुरबाले लेखेका पुस्तक आफूले नौ वर्षको उमेरमा पढेको उल्लेख गर्दै प्रकाशक थापाले पुस्तकले आफूलाई अहिलेसम्म पारेको प्रभावका आधारमा माध्यमिक तहका विद्यार्थीले अध्ययन गर्ने अवसर पाऊन् भनी प्रकाशन गरेर निःशुल्क वितरण गरिएको सुनाए।

रामायणको लामो कथाबाट बालबालिकाका लागि उपयुक्त मुख्य–मुख्य विषय समेटेर ९२ पृष्ठमा तयार पारिएको पुस्तक उपयोगी रहेको भानु प्रतिष्ठानका अध्यक्ष प्राडा व्रतराज आचार्य बताउँछन्। बालबालिकालाई नैतिक पक्ष सिकाउन पुस्तक उपयोगी रहेको उनले सुनाए। नगरपालिकामा सामुदायिक १७ र संस्थागत ९८ गरी ११५ वटा विद्यालय छन्। नगरपालिकाले कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम लागू गरे पनि कोरोनाकालपछि यो पुस्तकको पढाइ नै बन्द भएको विद्यार्थीको गुनासो छ। नगरपालिकाले देशमै पहिलोपटक स्थानीय पाठ्यक्रम लागू गरेको दाबी गरेको थियो।