भिजिट भिसामा अजरबैजान पुर्याएर रूसी सेनामा पठाउने योजना बनाएको पीडितहरुको आरोप


दिपक के.सी., काठमाण्डैं । बी.एक्वायर एजुकेसन कन्सल्टेन्सीले पोर्चुगल पठाइदिने भन्दै रूसी सेनामा पठाउन खोजेको पीडितहरुले आरोप लगाएका छन् । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै पीडितहरुले आफूहरुले पोर्चुगल जानका लागि जनही १२ लाख तिरेको भएपनि भिजिट भिसामा अजरबैजान पुर्याएर त्यहाँबाट रूसी सेनामा पठाउने योजना थाहा पाएपछि आफूहरुले प्रतिवाद गरेको नेत्र प्रसाद न्यौपानेले बताएका छन् ।

काठमाडौंको सामाखुसीमा रहेको बी.एक्वायर एजुकेसन कन्सल्टेन्सी र उक्त कन्सलटेन्सीका प्रबन्धक रोजिन न्यौपाने, अन्य आवद्ध व्यक्तिहरु बुद्ध पाँचकोटी, वसन्त पुडासैनी, क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका पोलिटव्युरो सदस्य र सचिवालय सदस्य न्यौपाने लगायतले पोर्चुगल पठाइदिने भनेर पैसा लिएको र भिजिट भिसामा अजरबैजान पुर्याएर रूसी सेनामा पठाउने योजना बनाएको पीडितहरुको आरोप छ ।

पीडितहरु कृष्णप्रसाद धमला, नवीन कुमार न्यौपाने, गोपीराम धमला, ध्रुबराज न्यौपाने, नेत्रप्रसाद न्यौपाने, टंक जैशी र निरज धमला रहेका छन् । उनीहरुले आफूहरुलाई गत जेठ ३१ गते पोर्चुगलका लागि भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अजरबैजान पुर्याइएको बताए । अजरबैजानमा डेढ महिना राखेपछि त्यहाँको एजेन्ट फरार भएको र प्रहरीले पक्राउ गरी ६४ घण्टा हिरासतमा लिएको उनीहरुले बताए । त्यसपछि एजेन्टले आफूहरुलाई हिरासतबाट छुटाएर दुवई पठाइएको उनीहरुको भनाइ छ । दुवईमा आफूहरुलाई पोर्चुगल पठाइदिने भन्दै पाँच महिनासम्म राखिएको पीडित नेत्र प्रसाद न्यौपानेको भनाइ छ ।

एजेन्टले पोर्चुगल नपठाएपछि आफूहरु आफैंले पैसाको जोहो गरेर दुवई हुँदै गत मंसिर २६ गते नेपाल फर्किएको बताए । नेपाल आएपछि पनि नेता न्यौपानेले उल्टै धम्की दिएको र कन्सल्टेन्सीमा जाँदा गुण्डा परिचालन गरेर आफूहरुमाथि आक्रमणको प्रयास भएको उनीहरुको भनाइ छ । हाल उक्त कन्सल्टेन्सी बन्द अवस्थामा रहेको र सन्चालकहरु फरार भएको बताइएको छ ।

पीडितहरुले हर्जनासहित आफूहरुको पैसा फिर्ता हुनुपर्ने बताएका छन् । साथै, वैदेशिक रोजगारीको नाममा बी.एक्वायर एजुकेसन कन्सल्टेन्सी र त्यसमा आवद्ध व्यक्तिहरुले मानव तस्करी गर्न खोजेको भन्दै उनीहरुलाई हदैसम्म कानुनी कारबाहीको लागि सरकारको ध्यानाकार्षण गराए ।