गायक एवं कलाकार कमल विके निर्मोहीको निधन भएको छ । मिर्गौला रोगबाट पीडित निर्मोहीको उपचारका क्रममा मंगलबार साँझ निधन भएको लोक तथा दोहोरी गीत प्रतिष्ठानकी वरिष्ठ उपाध्यक्ष राधिका हमाल पुनले जानकारी दिइन् । दाङको तत्कालीन फूलबारी गाउँपालिकामा जन्मिएका निर्मोही नेपालगन्जमा बसोबास गर्दै आएका थिए ।
परिवार श्रोतका अनुसार मंगलबार साँझ एक्कासि बेहोस भएपछि निर्मोहीलाई उपचारका लागि पहिले भेरी अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो । अवस्था सुधार नभएपछि उनलाई भेन्टिलेटरमा सारिएको थियो ।

मिर्गौला रोगबाट पीडित उनकी पत्नी हेरमदेवी विकको गएको २३ माघमा निधन भएको थियो । तीन दशक बढी रेडियोमा बोलेर पश्चिम नेपालमा श्रोतालाई मन्त्रमुग्ध पार्ने रेडियोकर्मी तथा लोकगायक कमल विके निर्मोही लामो समयदेखि नेपाली लोक सङ्गीत र सञ्चार क्षेत्रमा समर्पित रहँदै आएका थिए । निर्मोहीले थुप्रै स्टेज कार्यक्रममा उद्घोषण गरेका छन् ।
उनका ‘बुलबुल तालैमा’, ‘आउँ त भने’, ‘मैले भन्थे नि’, ‘सलल बग्ने’, ‘ताने झै माया’, ‘अरू मैले’, ‘वनको फूल फुलेछ’, ‘कठै सानु’, ‘भेरी दोभान’, ‘लाग्यो माया’लगायतका गीत चर्चित छन् ।गत मंसिरमा उहाँलाई इन्द्रेणी मार्फत सहयोग हस्तान्तरण गरिएको थियो ।
