दिपक के.सी.
चितवन, फागुन– प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा चितवन क्षेत्र नं.–३ मा चुनावी गतिविधि तीव्र बनेको छ। नेपाली कम्युनिस्ट पार्टी(नेकपा) की उम्मेदवार रेणु दाहाल यतिबेला मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै घरदैलो अभियानमा सक्रिय देखिएकी छन्।
भरतपुर महानगरपालिकाको दुई कार्यकाल मेयरको जिम्मेवारी सम्हालेकी दाहालले स्थानीय विकास, पूर्वाधार विस्तार तथा सेवा प्रवाह सुधारलाई आफ्नो मुख्य एजेन्डा बनाउँदै मतदातामाझ पुगिरहेकी छन्। घरदैलो कार्यक्रमका क्रममा उनले विगतमा सम्पन्न विकास योजनालाई निरन्तरता दिने र संघीय संसदमार्फत क्षेत्रको समग्र विकासलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरिन्।

मतदातासँगको भेटमा दाहालले सडक, खानेपानी, शिक्षा र स्वास्थ्य सेवामा अझ सुधार आवश्यक रहेको उल्लेख गर्दै जनताका समस्या प्रत्यक्ष सुन्ने उद्देश्यले अभियान सञ्चालन गरिएको बताइन्। स्थानीयवासीले पनि विकासका कामलाई निरन्तरता दिन आग्रह समेत गरेका छन्।

यसपटक चितवन–३ प्रतिनिधिसभा निर्वाचनका कारण राष्ट्रिय स्तरमै चर्चामा रहेको क्षेत्र बनेको छ। दाहालसँगै अन्य दलका उम्मेदवारहरू मैदानमा उत्रिएपछि चुनावी प्रतिस्पर्धा रोचक बनेको राजनीतिक विश्लेषकहरूको भनाइ छ। त्यही क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोबिता गौतम पनि प्रतिस्प्रधामा उत्रिएकी छिन् ।

चितवन–३ मा करिब एक लाख ५५ हजारभन्दा बढी मतदाता रहेका छन् भने विभिन्न दलका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। चुनाव नजिकिँदै जाँदा उम्मेदवारहरूले मतदाता केन्द्रित कार्यक्रमलाई तीव्र बनाएका छन्।
