निडर जनप्रतिनिधि बन्ने तोसिमाको प्रतिबद्धता


दिपक के.सी,काठमाडौं । युवा पुस्तामाझ लोकप्रिय नेतृ तोसिमा कार्की ले आफू निडर, पारदर्शी र जनताको पक्षमा उभिने जनप्रतिनिधि बन्ने प्रतिबद्धता व्यक्त गरेकी छन्। जनताको विश्वास नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको बताउँदै उनले राजनीतिक दबाब, स्वार्थ समूह वा कुनै पनि प्रकारको प्रभावबाट नडराई काम गर्ने अठोट व्यक्त गरिन्।

हालै आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै कार्कीले राजनीति सेवा गर्ने माध्यम भएको उल्लेख गर्दै जनताका वास्तविक समस्या समाधानलाई प्राथमिकतामा राख्ने बताइन्। स्वास्थ्य, शिक्षा, सुशासन र भ्रष्टाचार नियन्त्रणलाई आफ्नो मुख्य एजेन्डा बनाएको उनको भनाइ थियो।

उनले भनिन्, “जनताले परिवर्तनको अपेक्षा गरेर मत दिएका छन्। त्यो विश्वासलाई कमजोर हुन दिने छैनु। सत्य र न्यायको पक्षमा दृढ भएर उभिनेछु।”

युवा र महिलाको सक्रिय सहभागिता बिना देशको विकास सम्भव नभएको उल्लेख गर्दै उनले नयाँ पुस्तालाई राजनीतिमा सकारात्मक ढंगले सहभागी हुन आग्रह समेत गरिन्।

जनतासँग प्रत्यक्ष संवाद, पारदर्शी निर्णय प्रक्रिया र जिम्मेवार नेतृत्वमार्फत उदाहरणीय जनप्रतिनिधि बन्ने लक्ष्यसहित आफू अघि बढिरहेको उनले स्पष्ट पारिन्।