काठमाण्डौंमा रास्वपाको ‘जनसम्पर्क तथा घण्टी अभिवादन’ कार्यक्रम, मतदातासँग प्रत्यक्ष संवाद


काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को काठमाडौँ उपत्यका केन्द्रित ‘जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम’ गौशालाबाट सुरु भएको छ । पार्टीले उपत्यकाका तीनै जिल्ला समेट्ने गरी यो कार्यक्रम सुरु गरेको हो । ‘एउटै लक्ष्य, एउटै आवाज, एउटै प्रतिबद्धता’ भन्ने मूल नाराका साथ आयोजना भएको कार्यक्रमको उद्देश्य जनतासँग प्रत्यक्ष भेटघाट र जनसम्पर्क विस्तार गर्नु रहेको पार्टीले जनाएको छ। पशुपतिनाथ प्रवेशद्वार नजिकैको गौशालाबाट सुरु भएको यो अभियान बेलुकी ६:३० बजे वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा पुगेर समापन हुनेछ।

आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टीका नेता तथा कार्यकर्ताहरू विभिन्न टोल–बस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गरिरहेका छन्। कार्यक्रम अन्तर्गत रास्वपाका प्रतिनिधिहरू घरदैलो अभियानमार्फत नागरिकसँग संवाद गर्दै सुझाव संकलन गर्नुका साथै पार्टीका नीति, योजना र प्रतिबद्धताबारे जानकारी गराइरहेका छन्। ‘घण्टी’ चुनाव चिन्हसहित गरिएको अभिवादन कार्यक्रमले स्थानीय बासिन्दाको ध्यान आकर्षित गरेको देखिएको छ।

अभियानका क्रममा नागरिकहरूले सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना, ट्राफिक व्यवस्थापन र शहरी विकासका विषयमा आफ्ना अपेक्षा राखेका छन्। पार्टी नेताहरूले जनताको सुझावलाई प्राथमिकतामा राख्दै नीति निर्माणमा समेट्ने प्रतिबद्धता व्यक्त गरेका छन्।रास्वपाले राजधानीबाट सुरु गरिएको यो अभियानलाई अन्य जिल्लामा समेत विस्तार गर्ने जनाएको छ। प्रत्यक्ष जनसम्पर्कमार्फत मतदातासँग विश्वासको सम्बन्ध मजबुत बनाउने लक्ष्य पार्टीको रहेको बताइएको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार काठमाडौँजस्तो प्रतिस्पर्धात्मक क्षेत्रमा घरदैलो शैलीको अभियानले चुनावी माहोल थप तातिने संकेत देखिएको छ।