पाकिस्तानको कराचीमा प्रदर्शन हिंसात्मक बन्दा कम्तीमा १२ जनाको मृत्यु


पाकिस्तानको आर्थिक राजधानी कराचीमा आइतबार भएको हिंसात्मक प्रदर्शनका क्रममा कम्तीमा १२ प्रदर्शनकारी मारिएको खबर सार्वजनिक भएको छ। अमेरिकी वाणिज्य दूतावास (यूएस कन्सुलेट) नजिक भएको प्रदर्शन नियन्त्रण बाहिर गएपछि प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा ठूलो मानवीय क्षति भएको हो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेईको मृत्यु भएको खबरपछि आक्रोशित प्रदर्शनकारीहरू सडकमा उत्रिएका थिए। सयौँको संख्यामा भेला भएका प्रदर्शनकारीहरूले कराचीस्थित अमेरिकी कन्सुलेटतर्फ अघि बढ्दै ढुंगामुढा प्रहार, आगजनी तथा तोडफोड गरेका थिए।

स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार तथा बल प्रयोग गरेपछि झडप चर्किएको बताइएको छ। उद्धार अधिकारीहरूका अनुसार दर्जनभन्दा बढी घाइते भएका छन् र केहीको अवस्था गम्भीर रहेकाले मृतक संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ।

सिन्ध प्रान्त प्रशासनले शहरका संवेदनशील क्षेत्रमा सुरक्षा कडा पारिएको जनाएको छ भने नागरिकलाई अफवाह नफैलाउन र शान्तिपूर्ण प्रदर्शन गर्न आग्रह गरेको छ। घटनापछि कराचीसहित पाकिस्तानका अन्य शहरहरूमा पनि तनाव बढेको छ।

यो घटना इजरायल–इरान तनाव बढिरहेका बेला दक्षिण एशियामा समेत अस्थिरता फैलिन सक्ने संकेतका रूपमा हेरिएको छ।