नेपाल सरकारले खाडी मुलुक जाने श्रमिकका लागि श्रम स्वीकृति अस्थायी रूपमा रोक्यो, सुरक्षा जोखिम बढ्दै


काठमाडौं । मध्यपूर्वमा तनाव बढेसँगै सरकारले खाडी मुलुक जाने नेपाली कामदारका लागि श्रम स्वीकृति दिन तत्कालका लागि स्थगित गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले मध्यपूर्वमा उत्पन्न पछिल्लो विषम परिस्थितिका कारण जोखिम बढेकाले ती देशहरूमा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने श्रम स्वीकृति हाललाई स्थगित गरिएको जानकारी दिए । यसअघि वैदेशिक रोजगार विभागले नियमित रूपमा श्रम स्वीकृति प्रदान गर्दै आएको थियो ।

यसैबिच आइतबार नै परराष्ट्र मन्त्रालयले एक विशेष पत्रकार सम्मेलनको आयोजना गरी मध्यपूर्वको वर्तमान अवस्था, त्यहाँ रहेका नेपालीहरूको तथ्याङ्क र सम्भावित जोखिम न्यूनीकरणका लागि सरकारले गरिरहेको तयारीबारे विस्तृत जानकारी गराएको छ । परराष्ट्र मन्त्रालयका मध्य एसिया, पश्चिम एसिया र अफ्रिका महाशाखा प्रमुख ९सहसचिव० रामकाजी खड्काले दिएको जानकारी अनुसार हाल मध्यपूर्वका विभिन्न देशमा गरी करिब १७ लाख २९ हजार २ सय ८८ जना नेपाली नागरिकहरू रहेका छन् ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले मन्त्रालयले यसअघि नै ट्राभल एड्भाइजरी जारी गरिसकेको र सम्बन्धित दूतावासमार्फत नेपालीहरूलाई सुरक्षित रहन र अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह गरिसकिएको जानकारी दिए । राजदूत र नियोग प्रमुखहरूसँग निरन्तर समन्वय गर्न ह्वाट्सएप ग्रुप बनाएर चौबीसै घण्टा अपडेट लिने काम भइरहेको पनि मन्त्रालयले जनाएको छ ।

पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले नेपाली नागरिकहरूको सुरक्षा सरकारको उच्च प्राथमिकतामा रहेको दोहोर्‍याए ।’सरकारले हरेक अवस्थाको नजिकबाट मूल्यांकन गरिरहेको छ ।

आपतकालीन अवस्था आइपरेमा उद्धार गर्न संयन्त्रहरू तयार राखिएको छ,’ ढकालले भने, ’यस्तो बेलामा सामाजिक सञ्जालमा आउने अप्रमाणित र भ्रामक सूचनाको पछि नलाग्न, नआत्तिन र सम्बन्धित दूतावास वा मन्त्रालयले जारी गरेका आधिकारिक सूचनामा मात्र विश्वास गर्न म स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई आग्रह गर्दछु ।’ सरकारले अत्यावश्यक नपरी हाललाई ती देशहरूको भ्रमण नगर्नसमेत नेपाली नागरिकहरूलाई आग्रह गरेको छ ।