फागु पूर्णिमा तथा होली पर्व आज देशभर उल्लासका साथ मनाइँदै


दिपक के.सी.,काठमाडौं । वसन्त ऋतुको आगमनसँगै आपसी सद्भाव, खुशी र रंगहरूको पर्व फागु पूर्णिमा अर्थात् होली आज देशभर हर्षोल्लासका साथ मनाइँदै छ। परम्परागत रूपमा एकअर्कालाई अबिर, रंग र पानी छ्याप्दै नेपालीहरूले यो पर्व मनाउने गर्दछन्।

पहाडी तथा हिमाली जिल्लाहरूमा आज फागु पूर्णिमा मनाइँदै छ भने तराई–मधेस क्षेत्रमा भोलि विशेष उत्साहका साथ होली पर्व मनाइने परम्परा रहेको छ। यो पर्वले आपसी मनमुटाव भुलेर मेलमिलाप, भाइचारा र सामाजिक एकताको सन्देश दिने विश्वास गरिन्छ।

धार्मिक मान्यताअनुसार असत्य माथि सत्यको विजयको प्रतीकका रूपमा होली मनाउने गरिन्छ। हिरण्यकश्यपु, भक्त प्रह्लाद र होलिका सम्बन्धी पौराणिक कथासँग यो पर्व जोडिएको छ। त्यसैले होलीलाई सत्य, आस्था र विश्वासको विजयको उत्सवका रूपमा पनि लिइन्छ।

काठमाडौं उपत्यकासहित देशका प्रमुख शहरहरूमा युवायुवती, बालबालिका तथा सर्वसाधारण बिहानैदेखि रंग खेल्दै रमाइलो गरिरहेका छन्। पर्यटकीय क्षेत्रहरूमा समेत आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ।

यसैबीच, प्रशासनले मर्यादित र सभ्य रूपमा होली मनाउन आग्रह गरेको छ। जबरजस्ती रंग दल्ने, मदिरा सेवन गरी होहल्ला गर्ने तथा सार्वजनिक शान्ति भंग गर्ने गतिविधि नगर्न सुरक्षा निकायले चेतावनी दिएको छ। सम्भावित दुर्घटना र अवाञ्छित घटना रोक्न विभिन्न स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

फागु पूर्णिमाले नेपाली समाजमा खुशी, सकारात्मकता र आपसी सम्बन्ध अझ प्रगाढ बनाउने विश्वास गरिएको छ। रंगहरूको यो पर्वले सबैमा शान्ति, प्रेम र सहिष्णुताको भावना फैलाओस् भन्ने कामना गरिएको छ।