“रङ खेल्नु सजिलो, तर सामाजिक सद्भाव बचाउनु चुनौती”
दिपक के.सी., काठमाण्डौं– इन्द्रेणी विकास केन्द्र तथा विश्व चर्चित कार्यक्रम इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कंडेलले होलि रङहरुको पर्व मात्र नभई सामाजिक सद्भावको पर्व भएको बताएका छन । उन्ले भने “समाजमा भएका मनमुटाव र साम्प्रदायिक दोन्द्धलाई निमिट्यान्न पार्न होली पर्वले महत्वपुर्ण भुमिका खेलेको छ” यसैगरी उनले होलीले समाज र देशमा भाईचाराको सम्बन्धलाई प्रगाढ बनाएको बताएका छन । कंडेलका अनुसार “रङ खेल्नु सजिलो, तर सामाजिक सद्भाव बचाउनु चुनौती” रहेको उन्को भनाई छ । त्यसैले विविधताबीच एकता कायम गर्दै प्रेम, सहिष्णुता र सद्भावको रङ समाजभर फैलाउनु नै होलीको साँचो सार भएको कंडेलले बताए ।
नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देश हो । यहाँ मनाइने प्रत्येक चाडपर्वले केवल धार्मिक आस्था मात्र होइन, समाजलाई जोड्ने गहिरो सन्देश पनि बोकेको हुन्छ । त्यसमध्ये होली एउटा यस्तो पर्व हो, जसलाई धेरैले रङ खेल्ने उत्सवका रूपमा बुझ्छन् । तर वास्तवमा होली रङको पर्व मात्र होइन, सामाजिक सद्भाव, मेलमिलाप र आपसी सम्बन्ध सुदृढ गर्ने अवसर पनि हो ।
होलीले मानिसबीचको दूरी घटाउने काम गर्छ । वर्षभरि मनमुटाव, रिस(राग वा सामाजिक विभाजनले टाढा भएका मानिसहरू यही दिन एकअर्कालाई रङ लगाएर पुराना तिक्तता बिर्सन्छन् । “रङ” यहाँ केवल रंगीन पाउडर होइन, आपसी प्रेम, क्षमा र स्वीकारोक्तिको प्रतीक हो । यही कारण होलीले समाजमा सकारात्मक ऊर्जा फैलाउने काम गर्छ ।
आजको व्यस्त जीवनशैली र सामाजिक सञ्जालको बढ्दो प्रभावले मानिसहरू भौतिक रूपमा नजिक भए पनि भावनात्मक रूपमा टाढिँदै गएका छन् । यस्तो अवस्थामा होलीले मानिसलाई प्रत्यक्ष भेटघाट, हाँसो(खुसी र सामूहिक सहभागितातर्फ फर्काउँछ । जात, वर्ग, उमेर वा आर्थिक अवस्थाको भेदभाव बिना सबैले एउटै रङमा रमाउनु नै यसको सबैभन्दा सुन्दर पक्ष हो ।
तर पछिल्ला वर्षहरूमा होलीको नाममा हुने असभ्य व्यवहार, जबर्जस्ती रङ दल्ने, मदिरा दुरुपयोग गर्ने जस्ता विकृतिहरूले यसको मौलिक सन्देश कमजोर बनाउने खतरा पनि देखिएको छ । होलीको वास्तविक भावना कसैलाई असहज बनाउनु होइन, बरु सम्मानपूर्वक खुशी साट्नु हो भन्ने कुरा समाजले बुझ्न आवश्यक छ ।
त्यसैले होलीलाई केवल रमाइलो र मनोरञ्जनको दिनका रूपमा होइन, सामाजिक सम्बन्ध सुधार्ने, आपसी विश्वास बढाउने र सद्भाव फैलाउने पर्वका रूपमा मनाउनु आजको आवश्यकता हो । जब होली सम्मान, मर्यादा र सहअस्तित्वको भावनासहित मनाइन्छ, तब मात्रै यसको वास्तविक अर्थ उजागर हुन्छ ।
