मुस्ताङमा दुर्घटनामा परी निर्वाचनमा खटिएका कर्मचारीको मृत्यु


बागलुङ । मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा निर्वाचनमा खटिएका कर्मचारीको मृत्यु भएको छ । थासाङ गाउँपालिका–२ खन्तीमा ग ७ प १४८६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मुस्ताङ भन्सार कार्यालयका कर्मचारी ३२ वर्षीय सुनिल घतानेको मृत्यु भएको हो ।

आइतबार राति ८ बजे दुर्घटनामा परेर गम्भीर भएका घतानेको उपचारका लागि प्रदेश अस्पताल मुस्ताङ ल्याउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रहरी नायव उपरीक्षक छिरिङकिप्पा लामाले जानकारी दिइन् । घतानेको शवलाई मुस्ताङ अस्पतालमै राखिएको उनको भनाइ छ ।

घताने प्रतिनिधिसभा निर्वाचनमा बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नम्बर २ को झोङमा निर्वाचनका लागि खटिएका थिए । जनप्रिय आधारभूत विद्यालय झोङ मतदान केन्द्रमा खटिएका कर्मचारीको मृत्यु भएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले उनको सट्टामा अर्को कर्मचारी खटाएको जनाएको छ ।