काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान गर्नका लागि संघीय राजधानी काठमाडौंबाट आफ्नो गृहजिल्ला फर्किनेहरुको आज चाप रहेको छ। काठमाडौंका बसपार्कहरुमा यात्रुहरुको बाक्लो भीड देख्न सकिन्छ ।
रोजगारी, अध्ययन र अन्य विभिन्न सिलसिलामा काठमाडौं उपत्यकामा बसोवास गर्दै आएका मतदाताहरु आफ्नो मताधिकार प्रयोग गर्न गाउँ फर्किन थालेका हुन् । भोलि सार्वजनिक यातायात नचल्ने भएकाले आजै मतदानका लागि गाउँ फर्किनुपर्ने बाध्यता रहेको छ ।
सोही कारण नयाँ बसपार्क ९गोंगबु०, कलंकी, कोटेश्वर र बल्खु लगायतका स्थानमा बिहानैदेखि यात्रुहरुको घुइँचो लागेको हो । विशेषगरी लामो दूरीका सवारी साधनहरुमा टिकट पाउन मुस्किल पर्न थालेको यात्रुहरुले गुनासो गरेका छन् । यातायात व्यवसायीहरुकाअनुसार पछिल्लो केही दिनयता उपत्यका बाहिरिने यात्रुको संख्यामा उल्लेख्य वृद्धि भएको छ ।
यात्रुको चापलाई मध्यनजर गर्दै यातायात व्यवसायी समितिहरुले थप बसहरुको व्यवस्थापन गर्ने प्रयास गरिरहेको बताएका छन् । यद्यपि, मागको तुलनामा सवारी साधन अपुग हुँदा कतिपय यात्रुहरुले महँगो भाडा तिरेर वा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको अवस्था पनि छ ।
ट्राफिक प्रहरीले पनि उपत्यका बाहिरिने नाकाहरुमा सुरक्षा जाँच कडा पारेको छ भने यात्रुहरुको सहजताका लागि विभिन्न स्थानमा नागरिक सहायता कक्षहरु स्थापना गरेको छ । क्षमताभन्दा बढी यात्रु बोक्ने र तोकिएभन्दा बढी भाडा असुल्ने सवारी साधनलाई कारबाही गरिने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले चेतावनी दिएको छ ।
निर्वाचन आयोगले सबै मतदातालाई निर्धक्क भएर आफ्नो मताधिकार प्रयोग गर्न आह्वान गरिरहेको बेला नागरिकहरुमा उत्साह देखिएको छ । गाउँ–गाउँमा चुनावी चहलपहल बढेसँगै उम्मेदवारहरु पनि मतदाता फकाउन अन्तिम कसरतमा जुटेका छन् ।
