दिपक के.सी.,काठमाण्डौं । प्रतिनिधि सभा निर्वाचनका कारण आज काठमाण्डौंका मुख्य सडकहरू बिहानैदेखि सुनसान देखिएका छन्। सामान्य दिनमा सवारीसाधनको भीडभाड हुने नयाँ बानेश्वर, कोटेश्वर, कलंकी, महाराजगञ्ज र रत्नपार्क क्षेत्र आज भने शान्त र खाली देखिएका छन्।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षाकर्मीहरू संवेदनशील स्थानमा तैनाथ छन्। मतदान केन्द्र आसपास अनावश्यक भीडभाड गर्न नपाइने भएकाले सर्वसाधारण आवश्यक कामबाहेक घरमै बसेका छन्।
सार्वजनिक यातायात आंशिक रूपमा मात्र सञ्चालनमा रहेको छ भने निजी सवारीसाधन पनि अत्यन्त न्यून देखिएका छन्। बजार तथा व्यापारिक प्रतिष्ठानहरू प्रायः बन्द रहेका कारण राजधानीको चहलपहल कम भएको हो।

निर्वाचन आयोगले मतदातालाई शान्तिपूर्ण ढंगले मतदान गर्न आह्वान गरेको छ। मतपेटिका सुरक्षित रूपमा संकलन र मतगणना स्थलसम्म पुर्याउन सुरक्षा व्यवस्थामा विशेष सतर्कता अपनाइएको जनाइएको छ। राजधानीमा देखिएको यो शान्त वातावरणले निर्वाचनप्रति नागरिकको जिम्मेवारी र सचेतनालाई समेत संकेत गरेको छ।




