दिपक के.सी.,काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज बिहान ७ बजेदेखि देशभर मतदान सुरु हुनेछ । मतदान साँझ ५ बजेसम्म जारी रहनेछ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउने उद्देश्यले आवश्यक सुरक्षा व्यवस्था कडा पारिएको छ। मतदान केन्द्रहरूमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा नेपाली सेनाको सुरक्षात्मक व्यवस्था मिलाइएको छ।
मतदान गर्नका लागि मतदाता परिचयपत्र वा निर्वाचन आयोगले तोकेको परिचय खुल्ने आधिकारिक कागजात लिएर सम्बन्धित मतदान केन्द्रमा पुग्नुपर्ने व्यवस्था गरिएको छ। बिहानैदेखि विभिन्न मतदान केन्द्रहरूमा मतदाताहरूको उत्साहजनक उपस्थिति देखिएको छ। यस निर्वाचनमार्फत जनताले आफ्नो मताधिकार प्रयोग गरी देशको राजनीतिक नेतृत्व चयन गर्ने भएकाले मतदाताहरूलाई निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगले आग्रह गरेको छ।
निर्वाचन सम्पन्न भएपछि मतपेटिका कडा सुरक्षाका बीच सम्बन्धित मतगणना स्थलमा पुर्याइने र त्यसपछि मतगणना प्रक्रिया सुरु गरिने आयोगले जनाएको छ। यस निर्वाचनलाई लोकतन्त्रको महत्वपूर्ण अभ्यासका रूपमा हेरिएको छ, जहाँ जनताको मतले आगामी राजनीतिक दिशालाई निर्धारण गर्ने विश्वास गरिएको छ।
