दिपक के.सी.,काठमाडौँ। प्रतिनिधि सभा निर्वाचन अन्तर्गत बिहीबार बिहानदेखि काठमाडौँ उपत्यकाका विभिन्न मतदान केन्द्रमा मतदाताको उत्साहजनक उपस्थिति देखिएको छ। बिहान ७ बजेदेखि मतदान सुरु भएसँगै काठमाडौँ, ललितपुर र भक्तपुरका मतदान केन्द्रहरूमा मतदाताको लामो लाइन देखिएको छ।

मतदान केन्द्रहरूमा युवा, महिला, ज्येष्ठ नागरिक तथा पहिलो पटक मतदान गर्न आएका मतदातासमेत उत्साहपूर्वक उपस्थिती देखाएका छन्। निर्वाचन आयोगका अनुसार मतदान शान्तिपूर्ण र व्यवस्थित रूपमा सञ्चालन भइरहेको छ। सुरक्षा व्यवस्थालाई समेत कडा बनाइएको छ भने मतदान केन्द्रमा सुरक्षाकर्मी र कर्मचारी परिचालन गरिएको छ।
विशेषगरी काठमाडौँ उपत्यकाका शहरी क्षेत्रमा मतदाताको उत्साह उल्लेखनीय देखिएको छ। सामाजिक सञ्जालमा समेत मतदाताहरूले मतदान गरेको तस्बिर सार्वजनिक गर्दै लोकतन्त्रको उत्सवमा सहभागी हुन आह्वान गरिरहेका छन्।

ज्येष्ठ नागरिक र अपाङ्गता भएका मतदाताका लागि विशेष सहजीकरण गरिएको छ। कतिपय केन्द्रमा स्वयंसेवकहरू परिचालन गरी मतदान प्रक्रियालाई सहज बनाइएको छ।निर्वाचन आयोगले सबै मतदातालाई आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गर्दै शान्तिपूर्ण रूपमा मतदानमा सहभागी हुन अपिल गरेको छ।




