दिपक के.सी.,काठमाडौँ। प्रतिनिधिसभा निर्वाचनको दिन बिहीबार काठमाण्डौं उपत्यकाका मुख्य सडक, चोक र गल्लीहरू असामान्य रूपमा सुनसान देखिएका छन्। सामान्य दिनमा सवारीसाधन र मानिसको भीडले व्यस्त रहने काठमाण्डौं उपत्यकाकाका प्रमुख मार्गहरू आज भने लगभग खाली जस्तै देखिएका छन्।

निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन प्रशासनले सवारी आवागमनमा कडाइ गरेपछि उपत्यकाका अधिकांश सडकहरू सुनसान बनेका हुन्। रत्नपार्क, नँयाबानेश्वर कलङकी, कोटेश्वर, लगायतका मुख्य चोकहरूमा सामान्य दिनमा देखिने सवारी जाम आज देखिएन। ट्राफिक प्रहरीहरू भने चोक–चोकमा तैनाथ भई सुरक्षाको निगरानी गरिरहेका छन्।

सडक सुनसान भए पनि मतदान केन्द्रहरू भने मतदाताको उत्साहजनक उपस्थितिले भरिएका छन्। बिहानैदेखि विभिन्न मतदान केन्द्रहरूमा लामो लाइन देखिएको छ। युवादेखि ज्येष्ठ नागरिकसम्म लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदान केन्द्रमा पुगेका छन्।

चुनावको दिन सवारी सञ्चालनमा रोक लगाइएका कारण निजी तथा सार्वजनिक सवारी कम चलेका छन्। अत्यावश्यक सेवा बाहेकका सवारीलाई मात्र सञ्चालन अनुमति दिइएको छ। त्यसैले उपत्यकाका सडकहरू असामान्य रूपमा शान्त देखिएका हुन्।

यसबीच सुरक्षा निकायले उपत्यकाभर कडा सुरक्षा व्यवस्था मिलाएको जनाएको छ। ससस्त्र प्रहरी बर, नेपाल पुलसि, नेपाल आर्मी, निर्वाचन प्रहरी सुरक्षाकर्मीहरू विभिन्न स्थानमा परिचालन गरिएका छन्। निर्वाचनको दिन उपत्यकाका सडक सुनसान भए पनि लोकतन्त्रको पर्व भने मतदाताको सक्रिय सहभागिताले थप उत्साहपूर्ण बनेको छ।











