रास्वपा सभापति लामिछानेको तेस्रो जित, प्रतिस्पर्धीलाई हजारौँ मतले पछि पार्दै संसदमा पुनः प्रवेश
दिपक के.सी.,काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यमा फराकिलो मतान्तरसहित विजयी भएका छन्। मतगणनाको अन्तिम परिणाम अनुसार लामिछानेले आफ्ना प्रतिस्पर्धी नेपाली काँग्रेसकी उम्मेदवार मिना कुमारी खरेल र नेकपा एमालेका अस्मिन घिमिरेलाई उल्लेख्य मत अन्तरले पराजित गर्दै पुनः संसदमा प्रवेश गरेका हुन्।
निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार लामिछानेले ५४,४०२ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी मिना कुमारी खरेल ले करिब १४ हजार मत प्राप्त गरेकी छन्। यससँगै लामिछानेले प्रतिस्पर्धीलाई झण्डै ३९ हजार मतान्तरले पछि पार्दै प्रभावशाली जित हासिल गरेका हुन्।
यो जितसँगै लामिछाने चितवन–२ बाट तेस्रो पटक निर्वाचित भएका छन्। निर्वाचन परिणाम सार्वजनिक भएसँगै समर्थकहरूले चितवनका विभिन्न स्थानमा उत्साहका साथ विजय उत्सव मनाउन थालेका छन्।
राजनीतिक विश्लेषकहरूका अनुसार लामिछानेको जितले राष्ट्रिय स्वतन्त्र पार्टिको प्रभाव चितवन क्षेत्रमा अझ मजबुत भएको संकेत दिएको छ। चुनावी अभियानका क्रममा लामिछानेले सुशासन, पारदर्शिता र नयाँ राजनीतिक संस्कृतिको पक्षमा मतदातासँग प्रतिबद्धता व्यक्त गरेका थिए।
पत्रकारिता क्षेत्रबाट राजनीति प्रवेश गरेका लामिछाने छोटो समयमा नै नेपाली राजनीतिमा लोकप्रिय नेताका रूपमा स्थापित भएका हुन्। चितवन–२ मा उनको लगातारको प्रभावशाली जितले आगामी राष्ट्रिय राजनीतिमा पनि महत्वपूर्ण भूमिका खेल्ने संकेत गरेको छ।
