रास्वपाका पाण्डेले फराकिलो मतान्तरसहित जिते निर्वाचन, राजधानीमा नयाँ राजनीतिक लहर
दिपक के.सी.,काठमाडौं ।
काठमाडौं निर्वाचन क्षेत्र नम्बर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टिको तर्फ बाट प्रतिनिधिसभा सदस्यमा राजु नाथ पाण्डे विजयी भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पाण्डेले उज्यालो नेपाल पार्टीका अध्यक्ष कसलमान घिसिङ लाई पराजित गर्दै संसदमा प्रवेश गरेका हुन्।
निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार पाण्डेले १८ हजार ७५६ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी घिसिङले ११ हजार १७१ मत प्राप्त गरेका छन्। यससँगै पाण्डेले घिसिङलाई ७ हजार ५८५ मतान्तरले पराजित गरेका हुन्।
यस क्षेत्रमा अन्य प्रमुख उम्मेदवारहरूमा नेपाली कांग्रेसका रमेश अर्याल र नेकपा एमाले का रामेस्वर फुयाल रहेका थिए। तर मतपरिणाममा उनीहरू उल्लेख्य अन्तरले पछि परेका छन्।
राजधानीको महत्वपूर्ण निर्वाचन क्षेत्र मानिने काठमाडौं–३ मा पाण्डेको जितलाई विश्लेषकहरूले नयाँ राजनीतिक शक्तिको उदयको संकेतका रूपमा व्याख्या गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टिले काठमाडौंका विभिन्न क्षेत्रमा बलियो परिणाम निकालिरहेको सन्दर्भमा पाण्डेको जितलाई विशेष महत्वका साथ हेरिएको छ।
