फराकिलो समर्थनसहित प्रतिनिधिसभामा पुनः प्रवेश, मतदाताले विकास र स्थिर नेतृत्वमा भरोसा देखाए
दिपक के.सी.,नेपालगञ्ज ।
बाँके निर्वाचन क्षेत्र नम्बर–२ मा नेकपा (ऐमाले)को तर्फ बाट प्रतिनिधिसभा सदस्यमा मोहम्मद इश्तियाक राई विजयी भएका छन्। अन्तिम मतपरिणामअनुसार राईले आफ्ना प्रमुख प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विवेक कुमार श्रेष्ठ लाई पछि पार्दै २४,६२८ मत सहित विजय हासिल गरेका हुन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मतगणना परिणामअनुसार प्रारम्भदेखि नै अग्रता कायम राखेका राईले अन्तिमसम्म सो अग्रता जोगाउँदै प्रतिनिधिसभामा स्थान सुरक्षित गरेका हुन्। बाँके–२ मा यसपटक विभिन्न राजनीतिक दलका प्रभावशाली उम्मेदवारहरू बीच कडा प्रतिस्पर्धा देखिएको थियो।
निर्वाचन अभियानका क्रममा राईले क्षेत्रको समग्र विकास, रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य सेवामा सुधार, सडक तथा भौतिक पूर्वाधार विस्तारलाई प्रमुख एजेन्डाका रूपमा अघि सारेका थिए। स्थानीय उद्योग–व्यवसाय प्रवर्द्धन, कृषि क्षेत्रको आधुनिकीकरण तथा युवालाई अवसर सिर्जना गर्ने प्रतिबद्धताले मतदातालाई आकर्षित गरेका थिए।
बाँके–२ मा राईको जितले स्थानीय राजनीतिमा उनको प्रभाव अझ मजबुत भएको संकेत गरेको छ। विकासमुखी एजेन्डा र लामो राजनीतिक अनुभवका कारण उनले मतदाताबाट बलियो समर्थन प्राप्त गरेको टिप्पणी गरिएको छ।
