दिपक के.सी., काठमाडौं ।
प्रतिनिधिसभा निर्वाचनमा जुम्ला जिल्लाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञान बहादुर शाही १४,८१६ मत ल्यायर विजयी भएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट उम्मेदवारी दिएका शाहीले प्रतिस्पर्धी नेपाल कमन्युष्ट पार्टी (नेकपा)का उम्मेदवार नरेश भण्डारी लाई पछि पार्दै उल्लेखनीय मत सहित जित हासिल गरेका हुन्।
निर्वाचन आयोगका अनुसार शाहीले जुम्लाका विभिन्न मतदान केन्द्रबाट आएको मत परिणाममा अग्रता कायम राख्दै अन्ततः विजयी बन्न सफल भएका हुन्। मतगणना सुरुवातदेखि नै उनी लगातार अग्रस्थानमा रहेपछि उनका समर्थकहरूमा उत्साह छाएको थियो।
जुम्ला लामो समयदेखि परम्परागत ठूला दलहरूको प्रभाव क्षेत्र मानिँदै आएको थियो। तर यसपटक मतदाताले नयाँ राजनीतिक विकल्पतर्फ विश्वास देखाउँदै शाहीलाई विजयी बनाएका छन्। स्थानीय विकास, सुशासन र जनताका आधारभूत आवश्यकता सम्बोधन गर्ने प्रतिबद्धतासहित उनले चुनावी मैदानमा प्रवेश गरेका थिए।
विजयपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै शाहीले जुम्लाली जनताको विश्वासलाई उच्च सम्मानका साथ ग्रहण गर्दै जनताको अपेक्षा पूरा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। उनले जुम्लाको सडक, स्वास्थ्य, शिक्षा र रोजगारीका मुद्दालाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन्।
“यो मेरो मात्र जित होइन, सम्पूर्ण जुम्लाली जनताको जित हो,” उनले भने, “जुम्लाको विकास र समृद्धिका लागि म निरन्तर सक्रिय रहनेछु।”
यस निर्वाचन परिणामलाई जुम्लाको राजनीतिक समीकरणमा महत्वपूर्ण परिवर्तनका रूपमा हेरिएको छ। विश्लेषकहरूका अनुसार यसले कर्णाली प्रदेशको राजनीतिमा पनि नयाँ सन्देश दिएको छ।
