सर्लाही,– प्रतिनिधि सभा निर्वाचन अन्तर्गत सर्लाही क्षेत्र नं.–४ मा राष्ट्रिय स्वतन्त्र पार्टिका तर्फबाट अमरेश कुमार सिंह ३५,६८८ मत सहित विजयी भएका छन्। सिंहले प्रतिस्पर्धी उम्मेदवार नेपाली काँग्रेसका सभापती तथा उम्मेदवार गगन थापालाई उल्लेख्य मतान्तरले पछि पार्दै विजय हासिल गरेका हुन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सिंहले कुल मतमध्ये सबैभन्दा बढी मत प्राप्त गर्दै क्षेत्रको प्रतिनिधित्व गर्ने अवसर पाएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वीका रूपमा रहेका उम्मेदवारहरूले कडा प्रतिस्पर्धा गरे पनि अन्ततः सिंहको पक्षमा मतदाताको समर्थन देखिएको निर्वाचन अधिकारीहरूले बताएका छन्।
निर्वाचन परिणाम सार्वजनिक भए सँगै सर्लाही–४ का विभिन्न स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थकहरूले उत्सव मनाएका छन्। विजयी भएपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै सिंहले मतदाताप्रति आभार व्यक्त गरेका छन्। उनले भने, “यो विजय व्यक्तिगत नभई परिवर्तन चाहने जनताको जीत हो। सर्लाही–४ को विकास, सुशासन र पारदर्शिताका लागि म प्रतिबद्ध रहनेछु।”
यस क्षेत्रको निर्वाचनमा विकास, रोजगारी, सुशासन तथा भ्रष्टाचार नियन्त्रणका मुद्दा प्रमुख रूपमा उठेका थिए। चुनावी अभियानका क्रममा सिंहले शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार तथा युवालाई रोजगारीका अवसर सिर्जना गर्ने योजना अघि सारेका थिए।
राजनीतिक विश्लेषकहरूका अनुसार पछिल्लो समय नयाँ राजनीतिक शक्तिप्रति बढ्दो जनसमर्थनका कारण पनि सिंहको विजय सम्भव भएको मानिएको छ। यस परिणामले सर्लाही जिल्लाको राजनीतिक समीकरणमा समेत नयाँ सन्देश दिएको टिप्पणी गरिएको छ।
निर्वाचन आयोगका अनुसार मतगणना शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो। मतदानका दिन सर्लाही–४ का अधिकांश मतदान केन्द्रमा मतदाताको उल्लेख्य सहभागिता देखिएको थियो।
यससँगै ब्mचभकज प्गmबच क्ष्लनज प्रतिनिधि सभामा सर्लाही–४ बाट निर्वाचित हुने नयाँ सांसद बनेका छन्। स्थानीयवासीहरूले अब विकासका योजनाहरूलाई तीव्रता दिने अपेक्षा गरेका छन्।
