काठमाडौँ । र्यापर बालेन्द्र (बालेन) शाह नेपालका जननिर्वाचित कान्छा प्रधानमन्त्री बन्न सफल भएका छन् । ३६ वर्षको उमेरमा उनी देशको कार्यकारी पदमा पुग्न सफल भएका छन् ।
२०४७ साल वैशाख १४ गते काठमाडौँको नरदेवीमा जन्मिएका उनी हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा झापा–५ बाट निर्वाचित भए । उनले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई ४९ हजार ६१४ मतको फराकिलो अन्तरले पराजित गरी प्रधानमन्त्री बन्ने श्रेष्ठता हासिल गरे । बालेन ६८ हजार ३४८ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी ओलीले १८ हजार ७३४ मतमात्र प्राप्त गरेका थिए ।
बालेन यसअघि काठमाडौँ महानगरपालिकाको नगर प्रमुख थिए । उनी माघ ४ गते काठमाडौँ महानगरपालिकाका प्रमुखबाट राजीनामा दिएर राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०मा प्रवेश गरेका थिए । रास्वपाले उनलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेर चुनाव प्रचार गरेको थियो ।
राम नवमीको अवसर पारेर सनातन वैदिक र बौद्धिक परम्परागत अनुसार १२ः३४ को शुभ साइतमा बालेनले प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका छन् । शपथ ग्रहण समारोहमा १०८ जना बटुकबाट स्वस्ति शान्ति वाचन, १६ जना बौद्ध भिक्षुबाट अष्ठमङ्गल पाठ र ७ वटा शङ्खबाट शङ्खनाद गरिएको थियो ।
वर्षौंदेखि ब्राह्मण तथा क्षेत्रीबाट शासन सत्ताको नेतृत्व गरिरहेको बेला मधेसी मूलबाट पहिलो प्रधानमन्त्री बन्ने इतिहास पनि बालेनले नै रचेका छन् ।
नेपालको पहिलो प्रधानमन्त्रीका रूपमा भीमसेन थापालाई मानिन्छ । थापाले वि।सं। १८६३ देखि १८९४ सम्म ३१ वर्ष शासन गरेका थिए । उनी ३२ वर्षको उमेरमा मुख्तियार भएका थिए । थापादेखि बालेनसम्म २१९ वर्षको इतिहासमा जंगबहादुर राणा सबैभन्दा कम उमेर ३१ वर्षमा प्रधानमन्त्री बनेका थिए । यद्यपि त्यतिबेला जननिर्वाचित प्रधानमन्त्री हुने व्यवस्था थिएन । यस अवधिमा ४० जना प्रधानमन्त्री बनेकामध्ये मरिचमान श्रेष्ठ मात्र जनजाति समुदायका हुन् ।
पञ्चायतकालमा तुलसी गिरी राजा महेन्द्रको निगाहमा ३३ वर्षकै उमेरमा प्रधानमन्त्री बनेका थिए । सबैभन्दा पाका उमेरका जननिर्वाचित प्रधानमन्त्री बन्नेमा एमालेका पूर्वअध्यक्ष मनमोहन अधिकारी र कांग्रेसका पूर्वसभापति सुशील कोइराला छन् । २०५१ सालमा अधिकारी प्रधानमन्त्री हुँदा ७४ वर्षका थिए । ०७० सालमा प्रधानमन्त्री बनेका कोइरालाको उमेर पनि ७४ वर्ष थियो । २०६५ सालमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डको उमेर त्यतिबेला ५४ वर्षको थियो ।
२०४६ सालको राजनीतिक परिवर्तनपछिको ३५ वर्षसम्म परम्परागत राजनीतिक दलका प्रायः एउटै व्यक्ति प्रधानमन्त्री बनिरहेको सन्दर्भमा यसपटक देशले पहिलो पटक नयाँ र युवा प्रधानमन्त्री पाएको छ । बालेन प्रधानमन्त्री भएसँगै देशले ५२ वर्षपछि ४० वर्ष मुनिका प्रधानमन्त्री पाएको छ ।
पिता डा। रामनारायण शाह र आमा ध्रुवदेवी शाहका कान्छा छोरा बालेनको निवास काठमाडौँको सिनामङ्गलस्थित गैरीगाउँमा पर्छ । उनले ह्वाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङमा स्नातक र भारतको कर्नाटकस्थित विश्वेश्वरय्या प्रौद्योगिकी विश्वविद्यालयबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन् ।
२०७२ सालको महाभूकम्पपछि उनले उद्धार र राहतको काममा सक्रिय भएर समाजसेवीको रूपमा नक्सा बनाउने कार्य गरेका थिए । बालेनले ८ वर्षअघि सविना काफ्लेसँग विवाह गरेका थिए । सविना पेसाले जनस्वास्थ्यकर्मी हुन् ।
सानैदेखि बालेनको रुचि सङ्गीत र कवितामा थियो । कक्षा ९ मा अध्ययन गरिरहेका बेला उनले आफ्नो पहिलो गीत ‘सडक बालक’ वि।सं। २०६९ मा गाएका थिए । र्याप र इन्जिनियरिङसँगै उनले नेपालको राजनीतिमा पनि रुचि राखेका थिए ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा उनी विवेकशील नेपालीबाट उम्मेदवारी दिने तयारीमा थिए । तर तयारी नपुगेको कारण देखाउँदै उनले निर्वाचनमा कसैलाई पनि भोट नहाल्ने घोषणा सामाजिक सञ्जालमार्फत गरेका थिए ।
बालेनले २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरे । त्यतिबेला उनले ९० हजार ८३५ मत ल्याएर चुनाव जित्ने दाबी गरेका थिए । शाहको यो दाबीलाई धेरैले हावादारी भनेर उडाएका थिए । एमालेका केशव स्थापित र कांग्रेसका सिर्जना सिंह जस्ता प्रभावशाली उम्मेदवारलाई पराजित गरेपछि बालेनको चर्चा चुलिएको थियो । बालेन ६१ हजार ७६७ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार स्थापितले ३८ हजार ३४१ मत प्राप्त गरेका थिए । तेस्रो स्थानमा रहेकी कांग्रेसकी उम्मेदवार सिंहले ३८ हजार ११७ मत पाएकी थिइन् ।
