काठमाडौँ । चर्चित गायिका तथा पूर्वसांसद कोमल वलीका पिता ललितबहादुर वलीको निधन भएको छ । शुक्रबार दाङको तुलसीपुरस्थित आफ्नै निवासको छतमा घाम ताप्न जाने क्रममा खसेर ८५ वर्षीय ललितको निधन भएको हो ।
गायिका वलीले सामाजिक सञ्जालमार्फत बुवाको ‘महाप्रस्थान’ भएको जानकारी दिएकी छन् । वलीका अनुसार उनको पार्थिव शरीरलाई अन्तिम दर्शन र श्रद्धाञ्जलीका लागि तुलसीपुर ९बाहिनी गेट नजिकै रहेको निजी निवास ‘दिपा–ललित निवास’ मा राखिएको छ।
स्वर्गीय ललितबहादुर वली केवल एक अभिभावक मात्र नभई दाङको साहित्यिक र सामाजिक क्षेत्रका एक सक्रिय व्यक्तित्व थिए । वि.सं. १९९८ मंसिर १५ गते जन्र्मिका उनका ‘दर्पण’ (राष्ट्रिय गीत सङ्ग्रह) र ‘मातृभूमि’ (कविता सङ्ग्रह) गरी दुईवटा कृति प्रकाशित छन् ।
उनका सातवटा गीतहरू रेडियो नेपालमा रेकर्ड भएका छन्, जसमा देउसी भैलो, तीज र भजनहरू समावेश छन् । गायिका कोमल वलीका धेरै गीतहरूमा उनले मोडलिङ समेत गरेका छन् । उनी आफैँ पनि कुशल गायक थिए । कोमल वलीका अनुसार बुवाका केही गीतहरू रेकर्ड गरिदिने योजना बनाइरहेकै समयमा यो अकल्पनीय घटना भएको हो।
ललित दाङको सामाजिक र साहित्यिक संस्थाहरूमा महत्त्वपूर्ण जिम्मेवारीमा थिए । ललित समेत दाङ ज्येष्ठ नागरिक जिल्ला सङ्घको सदस्य, दाङ साहित्य प्रतिष्ठान, सङ्गीत नाट्य प्रतिष्ठान र पृथ्वीनारायण शाह प्रतिष्ठान तुलसीपुरको सदस्य समेत रहेका छन् । ज्येष्ठ नागरिकहरूको सेवामा समर्पित ललितको सम्मानमा परिवारले ‘ज्येष्ठ नागरिक प्रतिष्ठान’ समेत स्थापना गरेको छ।
शारीरिक रूपमा कुनै ठुलो रोग नभए तापनि उमेरका कारण उनी केही कमजोर थिए । केही समयअघि पत्नी ९कोमल वलीकी आमा० को निधन भएपछि उनी मानसिक रूपमा केही विक्षिप्त रहेका पारिवारिक श्रोतले जनाएको छ।
