‘हामी नेपाल’ नामक संस्थाका अध्यक्ष सुदन गुरुङ जेनजी आन्दोलनमा सबैभन्दा बढी चर्चा कमाएका व्यक्ति हुन् । संस्थागत रूपमा आन्दोलनकारीलाई पानी बाँड्न निस्किएका उनी आन्दोलनको अन्तिम समयमा आफैँ नायक बने ।
भूकम्प र कोभिडमा सयौँ स्वयंसेवक परिचालन गरेर चर्चा कमाएका गुरुङको परिचय जेनजी आन्दोलनपछि एकाएक फेरियो । जननिर्वाचित सरकार ढाल्ने र नयाँ अन्तरिम सरकार बनाउने भूमिकामा उनलाई धेरैले ‘बहादुर’ भने ।
गुरुङसँग युवा क्रेज छ । कांग्रेस र माओवादीको परम्परागत भोट बैंक भत्काएर गोरखा–१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित उनी अन्ततः बालेन शाह नेतृत्वको मन्त्रिपरिषद्मा गृहमन्त्रीको जिम्मेवारी पाउन सफल भएका छन् ।
सुदन गुरुङको जति चर्चा छ, उनीमाथि लागेका आरोपहरूको चाङ त्यति नै रहस्यमयी र विवादास्पद छ ।
सुरुमा राजनीति नगर्ने बताउँदै आएका उनले जेनजी आन्दोलनका क्रममा देशमा सुशासन र भ्रष्टाचार अन्त्यको आवाज छेडे । सुदनले सुशीला कार्की नेतृत्वको सरकारमा गृहमन्त्री बनेका ओमप्रकाश अर्यालविरुद्ध सधैँ बोलिरहे ।
सुरुमा अर्याललाई गृहमन्त्री बन्न सघाएका गुरुङ बिस्तारै ओमप्रकाशको गतिविधिलाई लिएर आक्रोशित भए । संविधान राख्ने र नराख्ने द्विविधामा रहेका गुरुङले चुनावको मिति घोषणा भइसकेपछि पनि विज्ञहरूले झुक्क्याएर संसद् विघटन गराएको भनेर गुनासो गरिरहन्थे ।
पोखरामा भएको सम्मान कार्यक्रममा उनले विज्ञहरूले नै झुक्क्याएर संसद् विघटन गरेको आरोप लगाएका थिए ।
विशेषगरी गृहमन्त्री ओमप्रकाश अर्यालतिर लक्षित गर्दै गुरुङले अर्यालकै कारण संसद् विघटन गरिएको र त्यो गलत भएको बताएका थिए । ‘उहाँले कानुनी सल्लाहकार भएर हामीलाई गुमराहमा राख्नुभयो र आज रगत लागेको बच्चाको पदमा बसेर सानसँग गफ हाँकिरहनुभएको छ,’ उनले भनेका थिए, ‘संविधान यसरी नै रह्यो भने र संशोधन गर्न सकिएन भने जेनजीको माग पूरा हुँदैन भनेर सल्लाह दिन सक्नुहुन्थ्यो । उहाँले हामीलाई सही सल्लाह दिनुभएन ।’
गुरुङको तर्क यो संविधान तुरुन्तै संशोधन गरेरमात्रै चुनाव गराउनुपर्ने थियो ।
गोरखाको अति दुर्गम चुमनुम्रीको साधारण परिवारमा जन्मिएका गुरुङले धेरै समय काठमाडौँमा बिताए । चितवनबाट काठमाडौँ गएका उनी ठमेलमा कल सेन्टरको कर्मचारी हुँदै डीजे सुदनको रूपमा चम्किएका थिए । सन् २०१२ मा ओएमजी क्लब खोलेर थिम पार्टीको सुरुवात गरेका उनले ठमेलबाट पैसामात्र कमाएनन्, उच्च पदस्थसँग नेटवर्क पनि बढाए ।
यत्तिकैमा २०७२ सालको विनाशकारी भूकम्प गयो । सुदनलाई उद्धारमा खटिनुपर्ने भाव आयो । डा। सन्दुक रुइतसँगको सल्लाहमा ‘हामी नेपाल’ नामक संस्था खोलेर उनी सहयोग गर्न थाले ।
कोभिड–१९ महामारीमा अक्सिजन र एम्बुलेन्स व्यवस्थापनमा उनले मिहिन हिसाबले काम गरे । यद्यपि, उक्त समयमा प्राप्त सहयोग अपारदर्शी भएको आरोप छ ।
तर, सामान्य परिवारको व्यक्ति पनि निरन्तर संघर्षले सत्तारोहण गर्न सक्छ भन्ने उदाहरण हुन् सुदन गुरुङ । उनीसँग जोडिएको अर्को आरोप छ, ‘फ्री तिब्बतसँगको हिमचिम ।’
यद्यपि उनले यसलाई पटक पटक चिर्ने प्रयास गरिसकेका छन् । यसबारे प्रश्न आएपछि सुदन भन्ने गर्छन्, ‘गुरुङ, लामा जस्ता थर आएपछि शङ्काको दृष्टिले हेर्ने चलन नेपालमा छ । यो गलत हो ।’
जे होस्, लामो समय क्लबका डीजे सुदन स्थायी सरकारको शक्तिशाली मन्त्रीमा नियुक्त भएका छन् । उक्त भूमिकामा उनी कति प्रभावकारी हुन्छन् भन्ने हेर्न केही समय कुर्नैपर्ने हुन्छ ।
