मलंगला, सर्लाही । सर्लाहीमा अवैध रुपमा सञ्चालित एक क्रसर उद्योगलाई जिल्ला प्रशासन कार्यालले बन्द गराएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बसबरिया गाउँपालिका – ३ कोठियारस्थित अभिनित वासिङ उद्योग तथा अभिनित ढुंगा क्रसर उद्योगलाई आज दिउँसो बन्द गराइएको हो । देशैभर अवैधानिक रुपमा सञ्चालित क्रसरहरू बन्द गराउन गृह मन्त्रालयले बुधबार सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र जारी गरेको थियो ।
मापदण्डविपरीत, दर्ता नै नगरी, नवीकरण नभएका, सञ्चालन अनुमति नै नलिई सञ्चालनमा रहेका ढुंगा, गिट्टी, रोडा तथा बालुवा उत्खनन, प्रशोधन कार्यमा संलग्न क्रसर उद्योगलाई तत्काल बन्द गर्न गृहले सोमबार दशैभरका प्रमुख जिल्ला अधिकारीलाई निर्देशनात्मक पत्र पठाएको थियो । उक्त क्रसर उद्योग नेपाली कांग्रेस मधेश प्रदेश सभा सदस्य वीरेन्द्र सिंहका दाइ सुरेन्द्र प्रसाद सिंहको हो । सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले सोमबार दिउँसो प्रहरीको टोली खटाएर क्रसर उद्योग बन्द गराइएको रातोपाटीलाई बताए ।
प्रशासनले विगतमा पनि पटक–पटक अनुगमन गरी उद्योग बन्द गराए पनि राजनीतिक संरक्षणका कारण पुनः सञ्चालन हुँदै आएको थियो । गत वर्ष पनि प्रशासनले बन्द गराएपछि उद्योग सञ्चालकले रातको समयमा क्रसर चलाउने र दिउँसो बन्द राख्ने गरेका थिए । यसपटक भने तत्काल पुनः सञ्चालन हुन नदिन विद्युत् लाइन नै काटिएको जनाइएको छ । उद्योग बस्ती नजिकै सञ्चालनमा रहँदा स्थानीयवासी प्रत्यक्ष प्रभावित हुँदै आएका थिए । त्यस्तै, उद्योगबाट निस्कने धुलो र प्रदूषणका कारण नजिकै रहेको एक विद्यालयसमेत वर्षौंदेखि प्रभावमा परेर बन्दजस्तै अवस्थामा पुगेको स्थानीयले बताएका छन् ।
