नेपालगञ्जकी सिर्जना मृत्यु प्रकरणः हत्या कि आत्महत्या रु अझै हुन सकेन यकिन


दुई दिनअघि बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१२ मा जलेको अवस्थामा भेटिएकी एक युवतीको हत्या कि आत्महत्या हो, प्रहरीले अझै यकिन गर्न सकेको छैन । प्रहरीले विभिन्न कोणबाट अनुसन्धान जारी राखेको जनाएको छ, तर निष्कर्षमा पुग्न सकेको छैन ।

नेपालगन्ज उपमहानगरपालिका–१२ कोरियनपुरस्थित सडकमा शनिबार राति जलेको अवस्थामा स्थानीय २२ वर्षीया सिर्जना बुढामगर फेला परेकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी दीपक पातलीका अनुसार घटनामा संलग्न भएको आशंकामा तीन जनालाई नियन्त्रणमा लिइएको छ । तर हत्या कि आत्महत्या भन्ने यकिन नभएको उनले रातोपाटीलाई बताए ।

पाँच जनाविरुद्ध किटानी जाहेरी

सिर्जना बुढामगरको परिवारले हत्याको आरोप लगाउँदै पाँच जनाविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएको छ । सिर्जनासँग ‘लिभिङ टुगेदर’मा बस्दै आएका नेपालगन्ज–१२ का २४ वर्षीय आरिफ ढपाली, उनकी आमा र दिदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बुढामगरको परिवारले आरिफका थप दुई सदस्यविरुद्ध पनि किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

डीएसपी पातलीले प्रहरीले थप दुई जनाको खोजी गरिरहेको बताए । नियन्त्रणमा लिएकाहरूसँग सोधपुछ भइरहेको पनि उनले जानकारी दिए । उनले बुढामगरको परिवारले हत्याको दाबी गरेको र सो विषयमा सोधपुछ भइरहेको पनि बताए ।

हिरासतमा रहेका तीन जनासँग घटना सम्बन्धमा विभिन्न कोणबाट सोधपुछ भए पनि अनुसन्धान नटुङ्गिएकाले उनीहरूले के बयान दिए भन्न नमिल्ने उनले बताए । घटनासँग जोडिएकाहरूले के–के गरे भन्ने विषयमा विभिन्न कोणबाट अनुसन्धान जारी रहेको उनले खुलाए ।

विगतको अवस्था

श्रीमानसँग सम्बन्ध टुटेपछि सिर्जनाले चार वर्षीय बच्चा आफैँसँग राख्दै आएकी थिइन् । उनी विगत दुई वर्षदेखि नेपालगन्ज–८ मा प्रेमी आरिफ ढपालीसँग ‘लिभिङ टुगेदर’मा थिइन् ।

ढपालीको घर नेपालगन्ज–१२ मा भए पनि उनीहरू वडा–८ मा छुट्टै कोठा भाडामा लिएर बस्दै आएका थिए । उनीहरूबिच बेलाबेलामा झगडा हुने गरेको थियो । पछिल्लो पटक तीन दिनअघि ढपालीले कुटपिट गरेपछि सिर्जनाले प्रहरीलाई खबर गरेकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार चैत १३ गते आरिफले कुटपिट गरेको भन्दै सिर्जनाले प्रहरीमा खबर गरेपछि उनलाई नियन्त्रणमा लिइएको थियो । तर, अर्को दिन चैत १४ गते झगडा नगर्ने र मिलीजुली बस्ने सर्तमा प्रहरीले आरिफलाई हिरासतबाट छाडेको थियो ।

सोही रात सिर्जना आफ्नो कोठाभन्दा टाढा, आरिफको घर नजिकैको सडकमा आगोले जलिरहेको अवस्थामा फेला परेपछि आफन्तले आरिफमाथि हत्याको आरोप लगाएका छन् । सिर्जनाको उपचारका क्रममा आइतबार बिहान भेरी अस्पतालमा मृत्यु भएको हो । उनकी ४ वर्षीया छोरी अहिले सिर्जनाको फुपूको घरमा राखिएको छ भने २४ वर्षीय प्रेमी ढपाली प्रहरी हिरासतमा छन् । मृतकको भेरी अस्पतालमा शव पोस्टमार्टम भइसकेको छ तर रिपोर्ट अझै आएको छैन । रिपोर्ट भोलिसम्म आउने प्रहरीको भनाइ छ ।

कारबाहीको माग

उक्त घटनामा हत्या भएको भन्दै मृतकका आफन्त र अन्यले आशंका गरेका छन् । घटनामा संलग्नलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने माग र दबाब नेपालगन्जमा बढ्दै गएको छ ।

सामाजिक सञ्जालमा समेत घटनाका दोषीलाई कडा कारबाही गर्न माग गरिएको छ । स्थानीय सञ्चारमाध्यममा नेता तथा अन्य सामाजिक अगुवाहरूले समेत हत्यामा संलग्न दोषीलाई कारबाही गर्न माग गरेका छन् ।नागरिक सरोकार मञ्च, बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले शरीरमा आगो लगाएर मृत्यु हुने घटना निकै गम्भीर भएको बताए । उनले महिलामाथि जघन्य अपराध गर्नेलाई कुनै पनि हालतमा छाड्न नहुने माग गरे । सिर्जनाको हत्या भएको घटना निकै गम्भीर र दुःखद भएको उनको भनाइ छ ।

यता, प्रहरीले घटनाको विषयलाई लिएर सामाजिक सञ्जालमा अनावश्यक टीकाटिप्पणी नगर्न आग्रह गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक दीपक पातलीले विभिन्न कोणबाट गम्भीर अनुसन्धान भइरहेको जनाउँदै सामाजिक सञ्जालमा समुदायहरूबिच द्वन्द्व फैलाउने खालका टीकाटिप्पणी नगर्न आग्रह गरे ।

नेपालगन्ज आफैँमा संवेदनशील क्षेत्र भएकाले यस्तो बेलामा अनेक तत्त्वहरू खेल्न सक्ने भएकाले जिम्मेवार रूपमा प्रस्तुत हुन आग्रह गरिएको उनले रातोपाटीसँग बताए ।