काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १५ रुपैयाँले बढाए पनि खाना पकाउने एलपी ग्यासको मूल्य भने बढाएको छैन । प्रतिसिलिन्डर ४१६ रुपैयाँभन्दा बढी घाटा हुँदाहुँदै पनि निगमले आम उपभोक्तालाई राहत दिन ग्यासको मूल्य यथावत् राखेको जनाएको छ ।
निगमद्वारा बिहीबार जारी विज्ञप्तिअनुसार इन्डियन आयल कर्पोरेसनबाट बढेर आएको नयाँ खरिद मूल्यअनुसार निगमलाई ग्यासमा प्रतिसिलिन्डर ४१६ रुपैयाँ ३७ पैसा घाटा छ । तर सञ्चालक समितिले चैत २० गतेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य मात्र समायोजन गरेको छ । पश्चिम एसियाको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ आकासिएको हो ।
