सम्पत्तिका लागि महिलाको शरीर टुक्राटुक्रा पारी खोलामा बगाइयो


काठमाडौं, ६ असोज । व्यक्तिगत रिसिइबी र सम्पत्तिका लागि झापामा एक महिलाको हत्या भएको छ । झापा जिल्लाको झापा गाउँपालिका १ माइती भई भारतको सिंघीमारी ग्राम पञ्चायत बस्ने डोली भन्ने धोन्नी टुडुको हत्या भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भदौ २५ गते झापाको माइखोलामा घुँडाभन्दा माथि र कम्मरभन्दा मुनिको भाग मात्रै भएको शव फेला परेकामा उक्त शव धोन्नी टुडुको रहेको छ ।

भदौ २५ गते मध्यान्ह १२ः३० बजे माईखोलामा भेटिएको सो शवको सम्बन्धमा अनुसन्धान गर्दा महिलाकै आफन्तले सम्पत्तिका लागि हत्या गरेको खुल्न आएको हो । अनुसन्धानका क्रममा महिलाकै आफन्तले भदौ २४ गते रातको समयमा माइखोला किनारमा लगी धारिलो हतियार प्रयोग गरेर हत्या गरेको र शवलाई टुक्राटुक्रा पारेर खोलामा बगाएको खुल्न आएको हो ।

अनुसन्धानपछि प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा मृतक महिलाका भाञ्जासहित ४ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार घटनामा संलग्न रहेको आरोपमा महिलाका भाञ्जा भारतको किसनगञ्ज जिल्ला, सिंघीमारी ग्राम पञ्चायत घर भएका २३ वर्षीय ऐतवार सोरेन, र झापा जिल्ला, झापा गाउँपालिका वडा नम्बर १ बस्ने वर्ष ३७ को लखन टुडु सतारलाई पक्राउ गरेको छ । पक्राउ परेका लखन टुडु सतार मृतक महिलाका सौताको भाइ रहेको खुल्न आएको छ । पक्राउ परेका दुवै जनाले योजनाबद्ध रूपमा महिलाको हत्या गरेको खुलेको छ ।

त्यसैगरी घटनाबारे थाहा पाएर पनि प्रहरीलाई जानकारी नदिने झापा गाउँपालिका वडा नम्बर १ का ५६ वर्षीय सिरी साईला भन्ने सोमाई हेमरम सतार र सोही स्थान बस्ने २७ वर्षीय हेमरम सतारलाई पनि पक्राउ गरेको छ । उनीहरूले मतियारको भूमिका खेलेको प्रहरीले जनाएको छ ।

घटनाको मुख्य योजनाकार भने भारतको किसनगञ्ज जिल्ला सिंघीमारी ग्राम पञ्चायत घर भएका मृतक महिलाका देवर मण्डल हेमरम सतार रहेको प्रहरीले जनाएको छ । उनी भने अझै फरार रहेका छन् ।

प्रहरीका अनुसार मृतक महिलाका छोराछोरी कोही नभएको र हत्या गरिएकी महिलाको श्रीमानको मृत्यु उनको हत्या हुनुभन्दा १५ दिन पहिले मात्रै भएको खुलेको छ । त्यसैगरी मृतक महिलाकी सौता रहेको र उनले विभिन्न आरोप लगाई हेला गर्ने र बोक्सीको आरोप लगाउने गरेको पाइएको छ । त्यसैगरी मृतक महिलाको निजको देवरसँग जग्गासम्बन्धी विवाद रहेको पनि प्रहरीले जनाएको छ । उनीहरू सबैलाई असोज १ गते पक्राउ गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय झापाका एसपी सानुराम भट्टराईका अनुसार महिलाको हत्या रिसिइबी र सम्पत्तिका कारण भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।