एपीएफको विजयी सुरुआत


काठमाडौं, असोज १२ । राजधानीमा जारी छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फ एपीएफ क्लबले विजयी सुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा मंगलबार भएको खेलमा विभागीय टिम एपीएफले ढोरपाटन स्पोर्ट्स क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै सुखद सुरुआत गरेको हो ।

राष्ट्रिय टिमका खेलाडीले भरिएको एपीएफले ढोरपाटनमाथि २५-११,२५-७ र २५-६ को जित निकाल्यो । आजै हुने महिलाको दोस्रो खेलमा न्यु डाईमण्ड स्पोर्ट्स क्लब र एभरेष्ट क्लब बुटवलबीच प्रतिस्पर्धा हुनेछ । यस खेल बिहान १० बजे सुरु हुनेछ । पुरुषतर्फ आज चार खेल हुनेछ । पुरुषको पहिलो खेलमा हेल्प नेपाल र प्रदेश-१ बीच प्रतिस्पर्धा हुनेछ । यस खेल १२ बजे सुरु हुनेछ । पुरुषको दोस्रो खेलमा मणिमुकुन्द भलिबल क्लबले गण्डकी प्रदेशसँग खेल्नेछ । यस खेल २ बजे सुरु हुनेछ ।

तेस्रो खेलमा त्रिभुवन आर्मी क्लब र नयाँ बजार सामाजिक युवाबीच खेल हुनेछ । यस खेल दिउँसो ४ बजे सुरु हुनेछ । पुरुषको चौंथो खेलमा एपीएफले बुढानिलकण्ठ भलिबल क्लबसँग खेल्नेछ । उक्त खेल साँझ ६ बजे सुरु हुनेछ । च्याम्पियनसिपको सम्पूर्ण खेलको प्रत्यक्ष प्रशारण खेलपाटी डटकमले गर्नेछ । नेपाल भलिबल संघले आयोजना गरेको च्याम्पियनसिपमा पुरुषतर्फ १४ टोली र महिलातर्फ ६ टोलीको सहभागिता रहेको छ । पुरुषतर्फ सहभागी टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोलीले क्वाटरफाइनलमा स्थान बनाउनेछ ।

महिलातर्फ ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछ । च्याम्पियनसिपबाट पुरुषतर्फ ७ र महिलातर्फ ५ टोली चैतमा आयोजना हुने क्लब लिगमा स्थान बनाउने छन् । महिला पुरुष विजेताले ४ लाख प्राप्त गर्दा उपविजेताले २ लाख पाउने छन् । तेस्रोले १ लाख प्राप्त गर्नेछन् । त्यस्तै सर्वोत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्दा विधागततर्फ उत्कृष्ट हुनेले १० हजार पाउने छन् । पाँचौ संस्करणको च्याम्पियनसिपमा पुरुषतर्फ हेल्प नेपाल र महिलामा एपिएफ क्लब च्याम्पियन बनेको थियो ।