सेमिफाइनलमै रोकिएको नेपाली चुनौती


काठमाडौं, असोज १२ । सन् २०१८ मा बंगलादेशले आयोजना गरेको साफ च्याम्पियनसिप नेपालका लागि धेरै अर्थमा सम्झनालायक र उत्तिकै धेरै अर्थमा बिर्सनलायक रह्यो । सहभागी सात देशमध्ये छ टिमको प्रशिक्षक विदेशी थिए, खालि नेपालकै मात्र आफ्नै स्वदेशी प्रशिक्षक थियो, बालगोपाल महर्जनका रूपमा । उनकै नेतृत्वमा नेपाल सेमिफाइनलसम्म पुग्यो । ढाकाको बंगबन्धु रंगशालामा सेप्टेम्बर ४ देखि १५ सम्म आयोजित प्रतियोगितामा नेपाल समूह ए मा परेको थियो, जसमा चार टिम थिए । नेपालको सुरुआत राम्रो रहेन् र आफ्नो पहिलो खेलमै पाकिस्तानसँग २–१ ले पराजित रह्यो । नेपालका लागि विमल घर्मिमगरले एक गोल गरे । यस्तोमा नेपाल सुरुमै दबाबमा आयो ।

त्यसपछि नेपालको प्रतिद्वन्द्वी भुटान थियो र उसमाथि भने आरामको ४–० जित निस्केको थियो । यसमा गोल गर्न खेलाडी थिए, अनन्त तामाङ, सुनिल बल, भरत खवास र निराजन खड्का । यो जितका बावजुत नेपालको सेमिफाइनल यात्रा तय थिएन् र त्यसपछि नेपाललाई बंगलादेशविरुद्ध खेल्नु थियो ।यसमा भने नेपालले २–० को सनसनीपूर्ण जित निकाल्यो, विमल घर्तिमगर र नवयुग श्रेष्ठको गोलको मदतले । यो नतिजाले जहाँ नेपाल समूह विजेता बन्यो, त्यहीं बंगलादेश भने प्रतियोगिताबाट बाहिरियो । पाकिस्तान समूहको दोस्रो स्थानमा रहेको सेमिफाइनल पुग्यो । लिग चरणको समाप्तीमा तीनै टिम समान छ छ अंकमा थिए, नेपाल, पाकिस्तान र बंगलादेश ।

अर्को समूहबाट भारत र माल्दिभ्सले सेमिफाइनल यात्रा तय गरे, श्रीलंका समूह चरणमै रोकियो । अन्तिम चारमा नेपालको प्रतिद्वन्द्वी थियो, माल्दिभ्स । प्रतियोगिताका क्रममा माल्दिभ्सले राम्रो खेलिरहेको थिएन्, त्यसैले नेपाललाई विश्वास थियो, यो खेल जित्न सकिन्छ । तर वर्षा र चट्याङबीच सुरु भएर रोकिएको र फेरि सुरु भएको खेलमा नेपाल ३–० ले पराजित भयो ।मैदान पूरा हिलाम्यको स्थितिमा थियो र नेपाली खेलाडीसामु त्यस मैदानका लागि सुहाउँदो बुट दिएन् । यो नेपालका लागि सर्वथा बिर्सनलायक खेल रह्यो । अर्को सेमिफाइनलमा भारतले पाकिस्तानलाई ३–१ ले हरायो । फाइनलमा भने माल्दिभ्स भाग्यमानी रह्यो र उसले भारतलाई २–१ ले हराएर दोस्रो पल्ट च्याम्पियन बन्यो ।