चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई तिर्‍यो १४ अर्ब २८ करोड कर


काठमाडौं, असोज १२ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको कुल राजस्व रकमको १.७३ प्रतिशत चौधरी ग्रुपले मात्रै तिरेको ग्रुपले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कोभिड महामारीले अर्थतन्त्रमा पारेका गम्भीर असरका बीच पनि अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा बढी राजस्व तिरिएको ग्रुपको भनाइ छ । चौधरी ग्रुपका अनुसार उसले आर्थिक वर्ष २०७४/७५ मा ९ अर्ब ६७ करोड ५७ लाख, २०७५/७६ मा ११ अर्ब ६७ करोड ५९ लाख र २०७६/७७ मा ९ अर्ब ८७ करोड २३ लाख रुपैयाँ बराबर कर तिरेको थियो । पछिल्लो चार आर्थिक वर्षमा मात्र ग्रुपले साढे ४५ अर्ब राजस्व बुझाएको जनाएको छ ।

चौधरी ग्रुपको खाद्य पदार्थदेखि जलविद्युत् र वित्तीय क्षेत्रमा समेत लगानी छ । ग्रुप मातहत सञ्चालित विभिन्न कम्पनीले उक्त राजस्व योगदान गरेका हुन् । ‘कोभिडका कारण राष्ट्रिय अर्थतन्त्र नै संकुचित भएको समयमा हामीले राजस्वमा गर्न सकेको उल्लेख्य योगदानको तथ्यले मलाई उत्साहित बनाएको छ,’ ग्रुपका अध्यक्ष विनोद चौधरीले भने, ‘स्वास्थ्य संकटको व्यवस्थापन र कोभिड खोप खरिदलगायत सरकारका अत्यावश्यक दायित्व व्यवस्थापनमा यसले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको होला भन्ने मैले विश्वास लिएको छु ।’