मेयरमाथि आक्रमण गर्ने युवालाई सार्वजनिक मुद्दा


काठमाडौं, ६ असोज ।बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीमाथि आक्रमण गर्ने युवालाई सार्वजनिक मुद्दा दायर गरिएको छ । सुवेदीमाथि आक्रमण गर्ने स्थानीय गणेश पंगेनीमाथि सार्वजनिक मुद्दा दायर गरिएको हो ।

सोमबार बिहान बुटवल–३ ज्योतिनगरको पहिरो अवलोकन गर्ने क्रममा सुवेदीमाथि पंगेनीले आक्रमण गरेका थिए । सोही दिन साँझ प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

सुवेदीमाथि हातपात गर्ने पंगेनीलाई सार्वजनिक मुद्दा अन्तर्गत थप अनुसन्धानका लागि ५ दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख मनोज केसीले जानकारी दिए ।

सुवेदीले आफूमाथि आक्रमण गर्ने युवालाई कुनै पनि मुद्दा नचलाउन र हिरासतमा नराख्नका लागि प्रहरीलाई आग्रह गरेको समाचार बाहिर आएपनि प्रहरीले भने सुवेदीले त्यस्तो कुनै आग्रह नगरेको बताएको छ ।

प्रहरी प्रमुख केसीले भने– ‘त्यस विषयमा अहिलेसम्म कसैले केही भनेको मलाई जानकारी छैन । हामी अनुसन्धानको प्रक्रियामा छौं ।’ मेयरमाथि मुक्का प्रहार गर्ने पंगेनी एमाले कार्यकर्ता हुन् ।

उनी एमाले निकट अनेरास्वियू रुपन्देहीको जिल्ला सदस्यको जिम्मेवारीमा रहेका छन् ।