उत्तर कोरियासँग कस्ता र कति हतियार छन् ?


हालैका क्षेप्यास्त्र परीक्षणहरूले उत्तर कोरियाले अस्त्र विकास कार्यक्रम नियमित राखेको देखाउँछ। उत्तर कोरियाले सम्भावित अमेरिकी हमलाबाट आफूलाई रक्षा गर्न अस्त्र विकास आवश्यक भएको बताउँछ।

उत्तर कोरियाले गत मंगलबार हाइपरसोनिक क्षेप्यास्त्रको सफल परीक्षण गरेको जनाएको छ।

ह्वासङ् ८ नाम दिइएको नयाँ क्षेप्यास्त्र उत्तर कोरियाको पाँच वर्षे सैन्य विकास योजनाअन्तर्गत तयार गरिएका ुमहत्त्वपूर्ण पाँच हतियार प्रणालीमध्ये एक भएको सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन्।

यो उत्तर कोरियामा एकै महिनाभित्र भएको तेस्रो क्षेप्यास्त्र परीक्षण हो।

यसअघि पनि उत्तर कोरियाले नयाँ प्रविधिको लामो दूरीमा मार हान्न सक्ने क्रूज क्षेप्यास्त्र परीक्षण गरेको थियो।

ज्यानुअरीमा उत्तर कोरियाले पनडुब्बीबाट मार हान्ने बलिस्टिक क्षेप्यास्त्र सार्वजनिक गरेको थियो जसलाई उसले विश्वको सबैभन्दा शक्तिशाली अस्त्र दाबी गरेको थियो।

सो हतियारको क्षमता अज्ञात छ र त्यो परीक्षण गरिएको वा नगरिएको भन्ने स्पष्ट छैन। उत्तर कोरियाली नेता किम जङ अनले आफ्नो देशको पारमाणविक अस्त्र र सैन्य क्षमता बढाउने बताएका छन्।

आर्थिक नाकाबन्दीका बीचमा पनि उत्तर कोरियाले आफ्नो अस्त्र क्षमतामा उल्लेख्य वृद्धि गरेको छ।

अमेरिका पुग्ने क्षेप्यास्त्र
सन् २०१७ भरि उत्तर कोरियाले परीक्षण गरेका क्षेप्यास्त्रहरूले उनको सैन्य प्रविधिमा भएको विकास देखाएका थिए।

ह्वासाङ १२ क्षेप्यास्त्र ४ हजार ५ सय किलोमिटर पर पुग्ने सोचिएको थियो जसले ग्वाम टापूमा रहेका अमेरिकी सैन्य आधार क्षेत्रसम्म मार हान्न सक्थ्यो।

पछि ह्वासाङ१४ अझ शक्तिशाली भएको देखियो जसले ८ हजार किलोमिटर मार हान्ने र अधिकतम १० हजार किलोमिटरसम्म पुग्ने बताइएको थियो।

त्यो उत्तर कोरियाको पहिलो अन्तरमहादेशीय क्षेप्यास्त्र बन्यो जुन न्यूयोर्कसम्म पुग्न सक्छ।

क्षेप्यास्त्र

ह्वासाङ १५ परीक्षण गर्दा ४ हजार ५ सय किलोमिटर माथि पुग्ने बताइयो। यो दूरी भनेको अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनभन्दा १० गुणा माथि हो।

जमिनमा प्रहार गर्दा यो १३ हजार किलोमिटरसम्म पर पुग्न सक्छ जसको अर्थ अमेरिकाको कुनै पनि स्थानसम्म पुग्न सक्ने क्षमता हो।

सन् २०२० को अक्टोबरमा उत्तर कोरियाले बेनामी बलिस्टिक क्षेप्यास्त्र सार्वजनिक गर्‍यो। परीक्षण नगरिएको सो क्षेप्यास्त्रले एकभन्दा बढी पारमाणविक अस्त्र बोक्न सक्ने बताइएको छ।

यसको ठूलो आकारले विज्ञहरूलाई समेत चकित पारेको थियो।

मार्चमा उत्तर कोरियाले २ हजार ५ सय किलो हतियार बोक्न सक्ने नयाँ क्षेप्यास्त्र बनाएको बतायो। यसको अर्थ यसले पारमाणविक हतियार बोक्न सक्छ भन्ने हुन्छ।

हालै परीक्षण गरिएको सीधा बाटो नजाने लामो दूरीका क्रूज क्षेप्यास्त्रले रक्षा प्रणालीलाई चुनौती थप्न सक्ने बताइएको छ।

संयुक्त राष्ट्रसङ्घिय सुरक्षा परिषद्ले उत्तर कोरियालाई बलिस्टिक क्षेप्यास्त्र परीक्षण गर्न प्रतिबन्ध लगाए पनि क्रूज क्षेप्यास्त्र परीक्षण गर्न रोक लगाएको छैन।

मङ्गलवार परीक्षण गरिएको हाइपरसोनिक क्षेप्यास्त्रको भने गति तीव्र छ।

थर्कोन्यूक्लीयर बमहरू
सन् २०१७ सेप्टेम्बर ३ मा उत्तर कोरियाले हालसम्मकै आफ्नो सबैभन्दा ठूलो पारमाणविक परीक्षण गर्‍यो।

सो उपकरणको विस्फोटन शक्ति १ सय देखि ३ सय ७० किलोटनको रहेको छ। १ सय किलोटनको बम हिरोशिमामा सन् १९४५ खसालिएको बमभन्दा छ गुणा शक्तिशाली हुन्छ।

उत्तर कोरियाले त्यसलाई आफ्नो पहिलो थर्मोन्यूक्लीयर हतियार परीक्षण भएको दाबी गरेको छ। थर्मोन्यूक्लीयर हतियारलाई परमाणुले विस्फोटन गरेपछि पुनः अर्को विस्फोटन गराई झन् ठूलो विस्फोट हुन बनाइन्छ।

सन् २०१८ को एप्रिलमा उत्तर कोरियाले आफ्नो क्षमता पुष्टि भएकोले पारमाणविक परीक्षण रोक्ने बताएको थियो।

ट्रम्प र किम

उसले आफ्नो परमाणु अस्त्र परीक्षण स्थल ध्वस्त पार्ने बताउँदै केही विदेशी पत्रकारको उपस्थितिमा केही पूर्वाधारहरू ध्वस्त बनाएको थियो। तर सो बेला अन्तर्राष्ट्रिय विज्ञहरू भने त्यहाँ उपस्थित थिएनन्।

सो वर्ष अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग सञ्चार सम्पर्कपछि उत्तर कोरियाले आफ्नो परमाणु कार्यक्रम चलाउने सबै पूर्वाधार बन्द गर्ने बताएको थियो। तर ट्रम्प र किम जङ(अनको वार्ता उपलब्धिमूलक भएन।

अगस्टमा संयुक्त राष्ट्रसङ्घीय इन्टर्न्याश्नल एटोमिक इनर्जी एजेन्सीले उत्तर कोरियाले परमाणु कार्यक्रम स्थल पुनः चलाउन थालेको बताएको थियो।

सेप्टेम्बरमा उनले त्यहाँको पारमाणविक कार्यक्रम पूर्ण मात्रामा सञ्चालनमा रहेको बताएको थियो।

लाखौँ सैनिक
उत्तर कोरियाको विशाल सैनिक सङ्ख्या छ। त्यहाँ १० लाखभन्दा बढी सैनिक र थप छ लाख रिजर्भ सैनिक रहेका मानिन्छ।

उसका धेरै अस्त्र पुराना र काम नलाग्ने भए पनि युद्धको अवस्थामा कुल छ लाख सेना रहेको दक्षिण कोरियालाई सङ्ख्याकै कारण ठूलो क्षति पुर्‍याउन सक्ने मानिन्छ।

अर्को खतरा सीमामा राखिएका ३१ हजारभन्दा बढी रकेट लन्चर जस्ता हतियार हुन् जसले ६० किलोमिटरको दूरीमा रहेका सोललाई खतरामा पार्न सक्छन्।

सन् २०१२ मा दक्षिण कोरियाले उत्तर कोरियासँग २ हजार ५ सय देखि ५ हजार टन रासायनिक हतियार रहेको अनुमान गरेको थियो जुन सम्भवतः संसारकै सबैभन्दा ठूलो मौज्दात हो।

उत्तर कोरियामा जैविक हतियार कार्यक्रम पनि चलिरहेको हुन सक्ने बताइन्छ।