लगातारको बाढीपहिरोमा परि मृत्यु हुनेको संख्या ८८ जना अझै ३० बेपत्ता


काठमाडौं, ४ कार्तिक । आइतबारदेखिको वर्षापछि आएको बाढीपहिरो र डुबानबाट आज बिहानसम्ममा मुलुकका विभिन्न जिल्लामा ८८ जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ ।

मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका अनुसार कुल ३० जना बेपत्ता भएका छन् । अधिकांशको पहिराका कारण ज्यान गएको हो । आजमात्रै ११ जनाको मृत्यु पुष्टि भएको छ । यसअघि बुधबार ६३ र मङ्गलबार १४ को मृत्यु पुष्टि भएको थियो । विपद्मा परेर पाँचथरमा मात्रै सबैभन्दा बढी २७ जनाको मृत्यु भएको छ । इलाम र डोटीमा १३र१३ जनाको मृत्यु भएको छ ।

यस्तै कालीकोट, बैतडी, डडेलधुरा, बझाङ, हुम्ला, सोलुखुम्बु, प्युठान, धनकुटा, मोरङ, सुनसरी, उदयपुरलगायत १५ जिल्लामा मानवीय क्षति भएको महाशाखाका प्रमुख हुमकला पाण्डेले जानकारी दिनुभयो ।

विपद्बाट २० जिल्ला प्रभावित भएको छ । बझाङमा सबैभन्दा बढी २१ जना हराइरहेका छन् । पाँचथरमा चारसहित विभिन्न जिल्लामा गरेर ३० बेपत्ता रहेको गृहमन्त्रालयले जनाएको छ । आज भने मौसममा सुधार आएको छ ।
पश्चिम नेपालबाट सुुरु भएको मौसम विस्तारै मध्य नेपाल हुदैं पूर्वी नेपालसम्म बाढी पहिरो र डुवानमा परेको हो ।