हुम्लामा ४ विदेशीसहित १२ पदयात्री हिउँमा फसे


 

काठमाडौं, ४ कात्र्तिक । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा र लिमीका पदयात्रामा आएका स्लोभेनियाका चार नागरिक, तीन पथप्रदर्शक र पाँच स्थानीय आइतबारबाट परेको बाक्लो हिमपातले लिमी क्षेत्रको तुम्लिङमा फसेको अधिकारीहरुले जनाएका छन् ।

पर्यटकीय क्षेत्र नाम्खा गाउँपालिकाको लिमीको पदयात्रा सकाएर सिमकोट फर्किने क्रममा आइतबार रातिबाट परेको बाक्लो हिमपातले बाटो छिचोल्न नसकेपछि उनीहरु तुम्लिङमा रोकिन बाध्य भएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिएका छन् ।

हिमपातको कारण नाम्खा गाउँपालिका–६ को लिमीको न्यालु लेकको बाटो अवरुद्ध हुँदा बाटो छिचोल्न नसकेर विदेशीसहित १२ जना रोकिएको स्थानीय सरकारले जनाएको छ ।

असोज २२ गते सिमकोटबाट हिल्सा हुँदै लिमीको पदयात्रामा गएका टोली र पदयात्रापछि न्यालु लेक हुँदै पैदलमार्गबाट सिमकोट आउने कार्यक्रम रहेको बताइएको छ । आइतबारबाट परेको बाक्लो हिमपातको कारण न्यालु लेकमा बाक्लो हिमपात हुँदा सो टोली उतै रोकिनुपरेको रिचा टुरका हुम्ला प्रतिनिधि पेमा लामाले बताएका छन् ।

न्यालु लेकमा तीन फिटभन्दा बढी हिमपात परेकाले बाटो बन्द भएपछि स्थानीय नागरिक आन्तरिक तथा बाह्य पर्यटकलाई आवतजावतमा समस्या रहेको नाम्खा गाउँपालिका–६ का वडाध्यक्ष पाल्जोर तामाङले बताए ।

उद्धारका लागि हेलिकोप्टरको व्यवस्थाका लागि गृहमन्त्रालयमा लेखी पठाएको प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए । प्रजिअका अनुसार बुधबार मौसम सफा नभएको कारण उद्धार हुन सकेन ।