कानून व्यवसायीको प्रदर्शन, सुरक्षामा कडाइ


प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै कानुन व्यवसायीहरुले कालोपट्टी बाँधेर प्रदर्शन गरेका छन् । उनीहरु सर्वोच्च अदालत परिसरको एक छेउँमा ब्यानर बोकेर उभिएका छन् । नेपाल बार एशोसिएसनको अगुवाइमा गरिएको प्रदर्शनमा कृष्णप्रसाद भण्डारी, दमननाथ ढुंगानालगायत छन् ।

प्रदर्शनलाई लक्षित गरी सर्वोच्च अदालत परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । सर्वोच्च अदालत भित्र र बाहिर सुरक्षाकर्मीको तैनाथी बढाइएको छ । प्रहरीका गाडी पनि तयारी अवस्थामा राखिएको छ । सर्वोच्च अदालतका कर्मचारीहरुलाई मुख्य गेटमा परिचय पत्र देखाएरमात्र प्रवेश गर्न दिइएको छ । कर्मचारी बाहेकलाई प्रवेश गर्न दिइएको छैन ।

बार एशोसिएसनले आज बिहान १० बजेदेखि ११ बजेसम्म कालोपट्टी बाँधेर सर्वोच्च अदालतमा विरोधको कार्यक्रम आयोजना गरेको छ । विरोधको यो कार्यक्रम आजदेखि तीन दिनसम्म हुने एशोसिएसनले जनाएको छ । प्रधानन्यायाधीश जबराले विकृति, विसंगति, भ्रष्टाचार रोक्न नसकेको र न्यायपालिकाको स्वच्छता, गरिमा कायम राख्न नसकेको भन्दै नेपाल बार एशोसिएसनले उनको राजीनामा माग्दै विरोधका कार्यक्रम घोषणा गरेको छ ।

पूर्वनिर्धारित कार्यक्रमअनुसार नेपाल बारले १६ गते सर्वोच्च अदालत परिसरमा धर्ना तथा विरोधसभा गर्ने निर्णय गरेको छ । १६ गतेसम्म पनि राजीनामा नआए विरोधका थप कार्यक्रम घोषणा गर्ने नेपाल बारले जनाएको छ । यही कात्तिक १२ गते बसेको बारको बैठकले जबरालाई प्रधानन्यायाधीश पदबाट राजीनामा दिन पाँच दिनको समयसीमा दिने निर्णय गरेको थियो । प्रधानन्यायाधीश जबराविरुद्ध नेपाल बारले सर्वोच्च अदालतमा बहस पैरवी बन्द गरेको छ ।