नेकपा उपाध्यक्षमा घनश्याम भुसाल पराजित


नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मंगलबार बिहान भएको निर्वाचनको ताजा परिणाम अनुसार उपाध्यक्षमा घनश्याम भुसाल समेत पराजित भएका छन्।

तर अध्यक्ष केपी शर्मा ओलीको सूचीमा परेका नेताहरु भने सबै जित नजिक पुगेका छन्।

एमाले निर्वाचन आयोग स्रोतका अनुसार उपाध्यक्षकी उम्मेदवार अष्टलक्ष्मी शाक्यले फराकिलो अग्रता बनाइरहेकी छन्।

ताजा परिणाम अनुसार उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यले १९७६, सुरेन्द्र पाण्डेले १९२५, सुवास नेम्बाङले १८६५, विष्णु पौडेलले १८५६, युवराज ज्ञवालीले १८४२, रामबहादुर थापा बादलले १७६८
र घनश्याम भुसाल ७२५ मत पाएका छन्।

यससँगै ओलीको सूचीमा नपरेका नवौँ महाधिवेशनका उपमहासचिव भुसाल पराजित भएका छन्। एमालेले विधान संशोधन गरेर ६ जना उपाध्यक्ष कायम गरेको थियो। यस्तोमा उपाध्यक्षका लागि भुसालले पनि उम्मेदवारी दिएपछि प्रतिस्पर्धामा सातजना थिए।