श्रममन्त्री श्रेष्ठ र इजरायल राजदुत गोदरबीच भेटवार्ता


३० कात्तिक, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्ण कुमार श्रेष्ठसँग नेपालका लागि  इजरायलका राजदुत हनान गोदरले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटवार्तामा उहाँहरूबीच नेपाल–इजरायलबीचको आपसी सम्बन्ध र दुईपक्षीय चासोबारे छलफल भयो । छलफलका क्रममा मन्त्री श्रेष्ठले सन् २०२० मा भएको श्रम सम्झौता अनुसार नेपाली नागरिकलाई इजरायलको दीर्घकालिन सेवाकेन्द्रमा सहायक कामदारको रूपमा १ हजार १ सय ७५ जनालाई रोजगारी प्रदान भएकोमा नेपाल सरकारको तर्फबाट इजरायली सरकारप्रति आभार व्यक्त गरेका छन् । केयर गिभरमा इजरायल जानका लागि भाषा पास गरेकाहरू निकट भविष्यमै जान पाउनेछन् । मन्त्री श्रेष्ठले योग्यता प्रणाली अनुरूप रोष्टरमा रहेका बाँकी ४ सय २५ जनालाई समेत रोजगारीको पहल गर्न आग्रह गरेका हुन ।

मन्त्री श्रेष्ठले आगामी दिनमा इजरायलका अन्य पेशागत क्षेत्रमा समेत नेपालीलाई रोजगारीको अवसरका लागि पहल गरिदिन आग्रह गर्नुभयो । मन्त्री श्रेष्ठले पुर्वाधार विकाससँगै इजरायलले गरेको कृषि क्रान्ति अनुकरणीय रहेको बताउनुभयो । पछिल्लो समय नेपालबाट इजरायलमा गइ काम गर्ने नेपाली कामदारको संख्या उल्लेखनीय रहेको चर्चा गर्नुहुँदै मन्त्री श्रेष्ठले इजरायल गएर कृषि क्षेत्रमा काम गरी आएका नेपालीले नेपालको कृषि क्षेत्रमा लगानी गरी व्यवसायीक कृषि पेशाा गर्दै आइरहेको बताउनुभयो । उहाँले नेपाली नागरिकले इजरायलको कृषि क्षेत्रमा आर्जन गरेको प्रविधिगत ज्ञान, सीप र अनुभवले नेपालमा कृषि क्षेत्रको आधुनिकिकरण र व्यवसायिकरणमा सहयोग पुर्‍याएको बताउनुभयो ।

राजदुत गोदरले भविष्यमा अन्य पेशागत क्षेत्रमा समेत नेपालीलाई रोजगारीको अवसर प्रदान गर्न इजरायल सकारात्मक रहेको बताएका छन् । इजरायल नेपाली कामदारहरुको लागि आकर्षक गन्तव्य मुलुकको रुपमा रहँदै आएको छ । अहिले करिब १२ हजार नेपाली कामदार इजरायलमा कार्यरत छन । नेपाल र इजरायलबीच सन् १९६० मा कुटनीतिक सम्बन्ध स्थापना भएको हो । इजरायलसँग कुटनीतिक सम्वन्ध स्थापित गर्ने नेपाल दक्षिण एसियाकै पहिलो देश हो । इजरायलली नागरिकले नेपालको पर्यटन प्रवर्द्दनमा पनि योगदान पुर्‍याएका छन् ।