उद्योगमन्त्री यादव बर्खास्त


प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय यादवलाई मुख्यमन्त्री लालबाबु राउतले बर्खास्त गरेका छन् ।

मुख्यमन्त्री राउतले मन्त्री यादवलाई पदमुक्त गरेको पत्र प्रदेश प्रमुखको कार्यालयमा दर्ता भैसकेको प्रदेश सरकारले जनाएको छ । अर्थमन्त्री शैलेन्द्र साहले जनता समाजवादी पार्टीका नेतासमेत रहेका यादवले सम्हालिरहेको मन्त्रालय नेकपा एकीकृत समाजवादीलाई दिने तयारी भएको बताए ।
यसअघि मंगलबार मन्त्री यादवलाई राजीनामा दिन आग्रह गरेको तर नदिएपछि पदमुक्त गरेको अर्थमन्त्री साहले जानकारी दिएका छन् ।
२०७४ सालको प्रदेशसभा निर्वाचनमा यादव तत्कालिन राष्ट्रिय जनता पार्टीबाट निर्वाचित भएका थिए । पछि राजपा र संघीय समाजवादी पार्टीबीच एकीकरण भएर जनता समाजवादी पार्टी बनेको थियो ।

तर जसपामा महन्थ ठाकुर पक्षसँगको विवादपछि मुख्यमन्त्री राउतले तत्कालिन राजपाबाट मन्त्री बनेका अरु मन्त्री बर्खास्त गर्दा यादवले भने उपेन्द्र यादव पक्षलाई समर्थन गरेका कारण मन्त्रिपरिषदमा कायमै राखेको जनाएको थिए ।