धान खरिदमा ढिलाइ सस्तोमा विक्री गर्न किसान बाध्य


खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान खरिदमा ढिलाइ गरेपछि बाँकेका किसानले बाध्य भएर निकै सस्तोमा धान विक्री गरिरहेका छन् । सरकारले समयमै धानको समर्थन मूल्य निर्धारण गरे पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित कार्यालयले हालसम्म धान खरिद शुरु नगर्दा बाध्य भएर व्यापारीलाई सस्तोमा धान विक्री गर्नुपरेको किसानले गुनासो गरेका छन् ।
कम्पनीले खरिद शुरु नगर्दा व्यापारीलाई सरकारले तोकेको भन्दा प्रति क्विन्टल ६ सयदेखि ८ सयसम्म कम मूल्यमा धान विक्री गर्नुपरेको बाँकेका किसानले जनाएका छन् ।
मोटा धान प्रतिक्विन्टल दुई हजार ७५१ रुपियाँ र मध्यम धान प्रतिक्विन्टल दुई हजार ९ सय २ रुपैयाँमा खरिद गर्न मूल्य निर्धारण गरिए पनि व्यवसायीले मोटा धान प्रतिक्विन्टल एक हजार ५ सय देखि दुई हजारसम्म र मध्यम धान प्रतिक्विन्टल दुई हजारदेखि दुई हजार ३ सय रुपियाँसम्ममा मात्र खरिद गरिरहेको छ ।

बाँके डुडुवाका किसान रामचरण मौर्यले अति आवश्यक आवश्यकताका कारण अहिले बाध्य भएर केही धान सस्तोमा विक्री गरेको जनाउँदै बाँकी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई विक्री गर्न जोगाएर राखेको बताए । यस वर्ष बेमौसमी वर्षाका कारण जिल्लाका ३० प्रतिशत जति धान नष्ट भएकाले बचेको धानलाई झन सरकारले छिटो राम्रो मूल्यमा खदिर गर्नुपर्नेमा सस्तो विक्री गर्दा अति नै पीडा भएको बाँके खजुराका किसानको गुनासो छ ।
यता सो बारेमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्ज कार्यालयले धान खरिद गर्ने निश्चित भएको जनाउँदै तर कोटा निर्धारण नगरिएको र केन्द्रबाट परिपत्र नआएकाले ढिलाई भएको बताएको छ ।