अमेरिकी सहायक विदेशमन्त्रीले टिचिङ अस्पतालमा फाइजर खोप केन्द्र अवलोकन


दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज गुगेका छन् । लुलेले आज आज बिहान अस्पताल पुगेर अमेरिकाले उपलब्ध गराएको फाइजर खोप केन्द्र अवलोकन गरेका हुन ।

तीन दिने नेपाल भ्रमणको क्रममा रहेका सहायकमन्त्री लुले शिक्षण अस्पताल पुगेर कोरोना विरुद्धको फाइजर खोप अभियानको अवलोकन गरेका हुन् । सो अवसरमा सहायकमन्त्री लुले फाइजर खोप बालबालिकाका लागि सुरक्षित रहेकाले ढुक्क भएर लगाउन आह्वान गरेका छन् ।

खोपकेन्द्र अवलोकन कार्यक्रममा स्वास्थ्यमन्त्री विरोध खतिवडा, नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीलगायत पनि सहभागी भएका हुन ।

अमेरिकी सरकारले नेपाललाई अनुदानमा दिएको फाइजर खोपको १ लाख ६२० डोज गत कात्तिक आठ गते काठमाडौं आएको थियो । सो खोपको पहिलो मात्रा अपांगता भएका १२ वर्षमाथिका बालबालिकाहरुलाई गत कात्तिक २८ गतेबाट दिन सुरु गरिएको सरकारले जनाएको छ ।

तीनदिने नेपाल भ्रमणका लागि गत बुधबार काठमाडौं आएका लुले आज साँझ प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्ने कार्यक्रम तथ भएको छ । भेटवार्तामा नेपालमा दुई देशबीचको सम्बन्धका साथै अमेरिकी अनुदान सहयोग एमसीसी परियोजना लगायतका विषयमा छलफल हुने बताइएको छ ।