मेलम्ची खानेपानी आयोजना तत्कालै अघि बढ्ने खानेपानी मन्त्री चौधरीको दाबी, कार्यक्रममा इन्द्रेणीको बेजोड् प्रस्तुती


 

काठमाडौं, मंसिर ०५। खानेपानी मन्त्री उमाकान्त चौधरीले राजधानीबासीको सपनाको मेलम्ची खानेपानी आयोजनालाई तत्कालै सञ्चालन गर्ने कार्ययोजना अगाडी बढाइएको दाबी गर्नुभएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागको ५० औं स्थापनाको अवसरमा आज भिडियो मार्फत शुभकामना व्यक्त गर्दै मन्त्री चौधरीले मेलम्ची खानेपानी आयोजनामा प्राकृतिक प्रकोपका कारण परियोजना प्रभावित भएको भन्दै छिट्टै कार्ययोजना अघि बढ्ने दाबी गर्नुभएको हो ।

मन्त्री चौधरीले जलवायु परिवर्तनका कारण हिमाल र पहाडमा पानीका मुहान सुक्दै गएका र तराईमा पानीको सतह घट्न जादाँ अहिले खानेपानीको थप जटिल्ता हुने तर्फ सबै सजग हुर्नुपर्ने बताउनुभयो । उहाँले तीन वटै सरकारले खानेपानी, सरसफाई र ढल व्यवस्थापनमा सहजीकरण गर्दै समस्या समाधान गर्न निर्देशन समेत दिनुभयो ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. दिलबहादुर गुरुङ, निर्वाचन आयोगमा आयुक्त ईश्वरी प्रसाद पौडेल, लोकसेवा आयोगमा सदस्य, खानेपानी सचिव, खानेपानी मन्त्रालयका पूर्व सचिव, पूर्व महानिर्देशकलगायतका विशिष्ठ व्यक्तित्वहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा विभागका महानिर्देशक दिनेशकुमार खत्रीले नेपालमा ९४ प्रतिशत नागरिक खानेपानीको पहुँचमा रहेको भन्दै आगामी सन् २०३० सम्ममा सबै नागरिकमा मध्यम र उच्च स्तरको खानेपानी ५० प्रतिशतलाई विवतरण गरिने योजना भएको बताउँनुभयो । उहाँले हाल ढल प्रशोधन २ प्रतिशत रहेको भन्दै २०३० सम्ममा ५० प्रतिशत पु¥याउने लक्ष्य निकै चुनौतिपूर्ण रहेको बताउनुभयो । सरकारले दक्षिण एशियामा पहिलो पटक नेपाललाई २०७६ सालमा खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिसकेको छ ।

खानेपानी तथा ढल व्यवस्थापन स्थापनाको अवसरमा कृष्ण कंडेल इन्द्रेणी फाउण्डेशनले विभिन्न क्षेत्रगत भाकामा गीतको माध्यम मार्फत जनसचेतनामुलक सांस्कृतिक कार्यक्रम प्रस्तुती गरेको थियो । फाउण्डेशनका अध्यक्ष कृष्ण कंडेलले खानेपानी, सरसफाई र ढल व्यवस्थापन सम्बन्धी गीत प्रस्तुत गर्नुभयो ।

सांस्कृतिक कार्यक्रममा इन्द्रेणीकी गायिका मनमाया वाइवा, छत्र शाही, कृष्णा बजगाई, भूमिका वयकलगायतका कालकारले गीत प्रस्तुत गरेका हुन । इन्द्रेणीका कलाकारले दोहोरी गित प्रस्तुत गर्दा बालकलाकारसँगै विभिन्न विशिष्ठ व्यक्तित्वहरु छमछमी नाच्नुका साथै दोहोरी गीत गाउन समेत भिडेका थिए । सेवा, सन्देश र मनोरञ्जनका साथ इन्द्रेणी कार्यक्रम मार्फत विगत १३ वर्षदेखि सामाजिक कार्यमा निरन्तर लागि रहेको छ ।