न्युजिल्याण्डले जनवरीबाट अन्तर्राष्ट्रिय सीमा नाका खोल्ने


न्युजिल्याण्डले आगामी जनवरीदेखि आफ्नो अन्तर्राष्ट्रिय सीमा खोल्ने भएको छ। न्युजिल्याण्डको सरकारले बुधबार अन्तर्राष्ट्रिय सीमा खोल्दै मुलुकमा बसोबास गर्दै आएकालाई जनवरीबाट र पर्यटकलाई अप्रिलबाट मुलुकमा प्रवेशको अनुमति दिने घोषणा गरेको हो।

कोभिड–१९ को महामारी सुरु भएपछि न्युजिल्याण्डले निकै कडा प्रतिबन्ध लगाउँदै आएको छ। यो क्रममा पर्यटकलाई पूर्णरुपमा प्रतिबन्ध लगाइएको छ भने मुलुकमा बसोबास गर्दै आएका मानिसलाई सेनाले सञ्चालन गरेको होटल क्वारेन्टिनमा बस्नुपर्ने नियम लगाइँदै आएको छ।

न्युजिल्याण्डले महामारीको समयमा सीमा प्रतिबन्ध लगाउँदै कोरोना संक्रमण शून्यमा झार्ने रणनीति अपनाएको थियो। गत अगष्टमा न्युजिल्याण्डमा प्रतिबन्धको बाबजुद कोरोना संक्रमण फैलिएसँगै कोरोना संक्रमण शून्यमा झार्ने रणनीतिमा नै प्रश्न उठेको थियो।

पछिल्लो समय न्युजिल्याण्डले कोरोना खोप अभियानलाई तीव्रता दिएको छ। न्युजिल्याण्डका कोरोना नियन्त्रण मन्त्रीले महामारीको समयमा सरकारले आफ्ना नागरिकलाई सकेसम्म सुरक्षित राखेको भन्दै अहिले यो कठिन निर्णय लिनुपरेको बताएका छन्।

यद्यपि लामो समयसम्म परिवारहरुलाई एकअर्कासँग छुटाएर राख्नु उचित नहुने भन्दै सीमा खोल्ने निर्णयमा पुगेको उनको भनाइ छ। नयाँ निर्णयअनुसार न्युजिल्याण्ड आउने मानिसले पनि आफ्नो घरमा नै सात दिनसम्म आइसोलेसनमा बस्नुपर्ने नियम बनाएको छ । अझैपनि विश्वमा कोरोना भाइरस माहामारीको जोखिम कायमै रहेकाले उच्च सर्तकता अपनाउन विश्व स्वास्थ्य संगठनले आग्रह गरेको छ ।