एमाले महाधिवेशनमा २ एआईजीसहित २५ सय प्रहरी परिचालित


काठमाडौं, मंसिर १० । आजदेखि सुरु भएको नेकपा एमालेको महाधिवेशनमा नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी तीन हजारको हाराहारीमा सुरक्षाकर्मी परिचालित भएका छन् । चितवनको नारायणी नदि किनारमा सुरु हुन लागेको एमालेको दशौं महाधिवेशनलाई सुरक्षाको दृष्टिकोणले संवेदनशील मानिएको हो । दुवै प्रहरीले अतिरिक्त महानिरीक्षकको नेतृत्वमा चितवनमा सुरक्षाकर्मी परिचालन गरेका हुन । नेपाल प्रहरीका एआईजी सहकुल थापा महाधिवेशन सुरक्षाका लागि बिहीबार चितवन पुगेका हुन । त्यहाँ तीन जना डीआईजी पनि सुरक्षामा खटिने भएका छन् ।

बागमती, गण्डकी र लुम्बिनीका प्रहरी प्रमुख पनि बिहीबार नै चितवनमा खटिएका छन् । बागमती प्रदेशका प्रहरी प्रमुख डीआईजी प्रकाशजंग कार्की, गण्डकी प्रदेश प्रहरी प्रमुख डीआईजी दिवेश लोहनी र लुम्बिनीका प्रदेश प्रहरी प्रमुख डीआईजी प्रकाश अधिकारीलाई पनि चितवनमा खटाइएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ।
तीन जना डीआईजी समेत खटाइने भएपछि समन्वय गर्न कार्य विभागका एआईजी सहकुल थापा चितवन पुगेका हुन । महाधिवेशनमा प्रहरीले डग स्निफिङ र ड्रोनबाट पनि सुरक्षा निगरानी गरिने तयारी पुरा गरेको छ।

नेकपा एमालेको कार्यक्रम र सुरक्षा अवस्थालाई प्रहरीले तीन तरिकाले संवेदनशीलतामा राखेको छ । संस्थापनभित्रै विभाजन, माओवादी अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र र नेपाली कांग्रेसको पनि अधिवेशन चलिरहेकाले सुरक्षा व्यवस्थालाई चुनौतीका रुपमा हेरिएको हो । यसअघि केपी ओलीकै पक्षमा रहेका नेताहरुबीचको प्रतिस्पर्धाले पनि सुरक्षामा समस्या निम्त्याउन सक्ने प्रहरीको पूर्व विश्लेषण छ । अर्को कारण हो– चितवन प्रचण्डको निर्वाचन क्षेत्र। एमालेले महाधिवेशन त्यही क्षेत्रमा गर्नु भनेको एक हिसाबले शक्ति प्रदर्शन पनि भएको सुरक्षा निकायको बुझाइ छ। यसले पनि सुरक्षामा समस्या निम्त्याउन सक्नेतर्फ सचेत रहेको त्यहाँ खटिएका एक उच्च सुरक्षा अधिकारीले बताए। अर्कोतिर माओवादी पवरित्याग गरी एमालेमा लागेका रामहबहादुर थापा समेत चितवनकै भएकाले सुरक्षाकाले थप चुनौति देखिएको हो ।

यस्तै नेपाली कांग्रेसको पनि महाधिवेशन प्रक्रिया चलिरहेको छ। चितवनको जिल्ला अधिवेशन ११ गते हुने तय भएको छ। जसका लागि चितवनका कांग्रेस कार्यकर्ता पनि त्यस क्षेत्रमा पुग्न थालेका छन्। एकै पटक दुई पार्टीका कार्यकर्ता भेट हुने भएपछि सतर्कता बढाइएको प्रहरीले जनाएको छ । महाधिवेशनमा ५ लाख कार्यकर्ता उतार्ने अध्यक्ष ओलीले घोषणा गरेका छन्। जिल्ला सुरक्षा समितिले पनि त्यसैलाई आकलन गरेर तयारी गरिरहेको चितवनका एसपी ओम अधिकारीले बताएका छन् ।

महाधिवेशनको समयमा चितवनको बाटो भएर जाने लामो दुरीका सवारी साधनलाई निषेध गर्ने निर्णय समेत सुरक्षा समितिले गरेको छ। पश्चिमबाट आउने सवारीलाई नारायणी पुलपारि नै रोक्ने निर्णय भएको चितवन र नवरपुलका जिल्ल सुरक्षा समितिको बैठकले निर्णय गरिसकेको छ । कार्यक्रममा आउने सवारीका लागि ११ ठाउँमा पार्किङको व्यवस्था गरिएको छ। हरेक सडकबाट आउने सवारीलाई कार्यक्रमस्थलभन्दा टाढै पार्किङको व्यवस्था गरिएको छ। साना र ठूला सवारी छुट्टाछुट्टै स्थानमा पार्किङ गर्ने व्यवस्था मिलाइएको एसपी अधिकारीले जानकारी दिए। कार्यक्रममा आउने सवारी व्यवस्थापनका लागि पनि थप ट्राफिक प्रहरी चितवन पुगेका छन्।

कार्यक्रम स्थल राजमार्गसँगै जोडिएकाले पनि ट्राफिक व्यवस्थापनमा चुनौती देखिएको छ।आज सहज हिसाबबाट सडक सञ्चालन हुने अवस्था नदेखिएको प्रहरीको बुझाई छ । यस्तै चितवन आसपासका मुख्य सडकमा हिजै राती देखि आज रातीसम्म मालबहाक सवारी साधनलाई रोक लगाई निजी र सार्वजनिक यातायात साधनलाई मात्र प्रवेश दिने भएको छ । बिहान ९ बजे पहिले र बेलुका साढे ५ बजेपछि भने यातायात सञ्चालन सहज हुने प्रहरीले जनाएको छ। कार्यक्रमस्थलका कारण यातायात अवरुद्ध हुने भएपछि निश्चित क्षेत्रलाई निषेधित क्षेत्र समेत घोषणा गरिएको छ। यी क्षेत्रमा अत्यावश्यक सेवाका गाडी भने चलाउने व्यवस्था गरिने प्रहरीले जनाएको छ। अरु गाडीलाई भने रोक्ने निर्णय सुरक्षा समितिले गरेको छ।

नारायणी पुलपारिबाट आउने सवारी व्यवस्थापनमा भने थप चुनौती देखिएको छ। काठमाडौंबाट जाने सवारीहरु पनि आँपटारीबाट अगाडि प्रवेश गर्न पाउने छैनन्। पूर्वबाट आउनेलाई टिकौली जंगल नजिकै रोकिने छ। जंगलनजिकै चौरमा गाडी रोक्ने निर्णय भएको छ। पश्चिमबाट आउने सवारी नारायणी नदी पुलपारि नै रोकिने छन्।एमालेको दसौँ महाधिवेशनको उद्घाटन आज हुँदैछ। महाधिवेशनका लागि अध्यक्ष केपी शर्मा ओली सहित सबै नेता तथा एमाले कार्यकर्ता चितवन पुगेका छन् । एमाले विभाजनपछि हुन लागेको महाधिवेशनले नयाँ नेतृत्व चुन्ने छ। बन्द सत्र भने सौरहामा गर्ने तय भएको हो । एमालेको नवौं राष्ट्रिय महाधिवेशन राजधानीमा भएको समयमा समेत एमाले कार्यकर्ताबीच कुटाकुट हुनुका साथै ढुंगा हाना हान भएको थियो । त्यसैले पनि अहिले विगतको महाधिवेशनलाई समेत आकलन गरी थप सुरक्षा सर्तकता अपनाईएको हो ।