चितवन हुँदै चल्ने मालवाहक गाडीलाई काठमाण्डौमै रोक


काठमाडौं, मंसिर १० । काठमाण्डौबाट नारायणगढ–मुग्लिन सडक खण्ड हुँदै चल्ने ठूला मालवाहक गाडीलाई आज रोक लगाइएको छ । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनका लागि ट्राफिक व्यवस्थापन गर्न भन्दै मालवाहक गाडीलाई काठमाण्डौमै रोकिएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाकाअनुसार यी गाडीलाई नागढुङ्गाबाट प्रवेश गर्न दिइएको छैन । ठाउँठाउँमा मालवाहक गाडीको लामो लाइन छ ।

कलङ्कीदेखि नागढुङ्गा सडक खण्डका केही ठाउँमा गाडी रोकिएका छन् । यस्तै, ललितपुरको धोबिघाटदेखि कलङ्कीसम्म नै लामो लाइन छ । एमालेको महाधिवेशनका कारण ट्राफिक व्यवस्थापनमा चाप पर्ने भएकाले ठूला मालवाहक गाडीलाई आज दिनभरि नै रोक लगाउने तयारी छ । आज पूर्व-पश्चिम राजमार्ग अन्तर्गतको बुटवल–नारायणगढ सडक खण्डमा पनि मालवाहक गाडी सञ्चालनमा रोक लगाइएको छ ।