महासचिवमा ओलीनिकट तीन नेताको दाबी


काठमाडौं, मंसिर १० । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निकट तीन नेताले महासचिवमा दाबी गरेका छन् । सौराहास्थित पार्क सफारी रिसोर्टमा बिहीबार राति अध्यक्ष ओलीसहितका उनी निकट नेताहरूको बैठक बसेको थियो । बैठकमा उपमहासचिव विष्णु पौडेल, शंकर पोखरेल र प्रदीप ज्ञवालीले महासचिवमा दाबी गरेको स्रोतले बताएको छ ।

पोखरेललाई उपाध्यक्ष ईश्वर पोखरेल र विष्णु रिमाल साथ दिएका थिए । पौडेललाई भने सुवास नेम्वाङलगायतले साथ दिएका छन् । महाधिवेशन उद्घाटनको पूर्वसन्ध्यामा अध्यक्ष ओली समूहमै दुई धार देखिएको हो । महाधिवेशन उद्घाटन सुरु हुनै लाग्दासम्म पनि नेतृत्व चुनावबाट छानिन्छ कि सर्वसम्मत हुन्छ भन्ने निश्चित भएको छैन । विभिन्न पदका आकांक्षी अध्यक्ष केपी शर्मा ओलीको इसारा कुरेर बसेका छन् । महाधिवेशनमा भाग लिन विभिन्न क्षेत्रबाट चितवन आइपुगेका अधिकांश प्रतिनिधि भने सर्वसम्मत नेतृत्व चयनको पक्षमा देखिएका छन् ।

नवौं महाधिवेशनमा जस्तो यसपटक समूहगत प्रतिस्पर्धा खुला गरिएको छैन । तर पदाधिकारीमा सर्वसम्मत नहुँदा आफ्नै समूहमा रहेका नेताहरूबीच पनि ध्रुवीकरण हुने जोखिमले अध्यक्ष ओलीलाई अप्ठ्यारोमा पारेको छ । उपाध्यक्ष भीम रावलको उम्मेदवारी घोषणाले सर्वसम्मति गराउन ओलीलाई थप सकस परेको हो ।पदाधिकारीका लागि ३ दर्जनभन्दा बढी नेता आकांक्षी छन् । एक–एक पद वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिवमा ओलीनिकट नेताहरूकै मुख्य प्रतिस्पर्धा छ । -कान्तिपुर