कोरोना संक्रमण बारेमा थप निर्णय गर्न सिंहदरवारमा बैठक


दक्षिण अफ्रीकामा कोरोना भाइरसको नयाँ भेरियन्ट (ओमिक्रोन) देखिएसँगै नेपालमा समेत नयाँ भेरियन्टको जोखिम हुन सक्ने भन्दै रोक्ने तयारी थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ भेरियन्ट देखिएको भन्दै रोकथामका लागि तयारी थालेको बताएको हो ।

अन्य देशहरुले हवाइ क्षेत्रलगायत क्षेत्रमा कडाइ गर्न थालेपछि नेपालमा पनि कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को बैठक आइतबार बसेर थप निर्णय लिने भएको हो । सीसीएमसीका प्रवक्ता सुनिता नेपालका अनुसार बैठकमा स्वास्थ्य विज्ञहरुको समेत सहभागितासहित थप निर्णय गरिने बताएका छन् ।

बैठकले महत्वपूर्ण निर्णयहरु गर्ने बताइएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले नयाँ भेरियन्ट फैलिएका देशबाट आउने नागरिकका सन्दर्भमा पहिले नै जारी भएको आदेश कडाईका साथ कार्यान्वयनमा ल्याउने बताएका छन् ।

‘दक्षिण अफ्रीकाबाट ‘डाइरेक्ट’ फ्लाइट छैन। ट्रान्जिट प्वाइन्टहरुमा विशेष सावधानी अपनाउँछौं। प्रभावित देशबाट आएका जो–कोही क्वारेन्टीनमा बस्नुपर्छ,’ उनले भने।

उनले नेपालमा कोरोना जोखिम नटरेको भन्दै संक्रमण रोकथामका लागि पूर्वाधारहरु तयारी अवस्थामा रहेको बताए। स्वास्थ्य मन्त्रालयले हेल्थ डेस्क तयारी अवस्थामा राखेको समेत जनाएको छ । छिमेकी मुलुक भारतमा समेत उच्च सर्तकता अपनाएको छ । यो सँगै भारतले अन्य छिमेकी मुलुकका नाका समेत बन्द गर्न थालेको छ ।